अस्ट्रेलिया त्यागेका नन्दन यादवले राष्ट्रिय टोलीमा बनाए स्थान 

काठमाडाैं । गत एनपिएल संस्करणमा कर्णाली याक्सले अनुबन्ध गरेपछि नेपाल फर्किएका नन्दन यादवको क्रिकेट करियर बढो रोचक छ । एनपिएल सकिएपछि “जय नेपाल”  कप खेल्दै गर्दा पनि उक्त प्रतियोगिता पछि उनी नेपाल नबस्ने भन्नेमै थिए । तर एकाएक जनकपुरमा सम्पन्न “जय नेपाल” कपबाट काठमाडौं फर्किसकेपछि उनले अस्ट्रेलिया नफर्कने सोच बनाए ।

उनले नेपालमै बसेर क्रिकेट करियरलाई अघि बढाउने निर्णय गरे । नन्दनले नेपालमै बसेर आफ्नो करियरलाई अगाडि बढाउने निर्णयमा शनिवार क्रिकेट एसोसिएसन अफ नेपालले पनि साथ दियो । ९ अप्रिलबाट हङकङमा  हुनगइरहेको चार देशीय टी-२० आई शृङ्खलामा क्यानले घोषणा गरेको १४ सदस्यीय टोलीमा नन्दन यादवलाई पनि समेट्यो ।

नेपाली टोलीमा तीव्र गतिका बलर नन्दन यादवले तीन वर्षपछि स्थान बनाएका हुन् । यस भन्दा अगाडि नन्दन यादवलाई सन् २०२२ डिसेम्बरमा पनि नेपाली टोलीमा समावेश गरिएको थियो । नामिबियाको विन्डहोकमा आयोजित नामिबिया र स्कटल्याण्डविरुद्द आइसिसी पुरुष क्रिकेट विश्वकप लिग २ शृङ्खलाका लागि नेपालको १४ सदस्यीय टोलीमा स्थान बनाएका थिए ।

तर दुर्भाग्य उनले यो सिरिजमा अन्तिम ११ मा भने स्थान बनाउन पाएनन् । यसरी राष्ट्रिय टोलीबाट खेल्ने नन्दनको सपना सन् २०२२ मा पूरा भएन । परिवारमा आर्थिक समस्या भएपछि उनी त्यस लगत्तै अस्ट्रेलिया हानिए । अहिले नन्दनको राष्ट्रिय टोलीबाट खेल्ने सपना पुनः एक पटक साकार हुन गइरहेको छ ।

गत एनपिएल संस्करणमा उत्कृष्ट प्रदर्शन गरेका कारण नन्दनको पुनरागमन सम्भव भएको हो । नन्दनले कर्णाली यार्क्सका लागि क्वालिफाएर- टु बाट बाहिरिनु पूर्व ९ विकेट हात पारेका थिए ।

कर्णालीबाट बलिङ गर्ने क्रममा नै नन्दनले नेपालको डेथ बलिङमा नयाँ आशा देखाएका थिए । सिरिजका लागि धेरै नयाँ नामहरू देखा परेका छन् । नन्दन बाहेक साहब आलम र बसिर अहमदले पनि राष्ट्रिय टोलीमा पुनरागमन गरेका छन् ।

आलम र बसिर पनि एनिपिएलमा उत्कृष्ट प्रदर्शन गरेका खेलाडीहरू हुन् । केही नयाँ खेलाडीहरूले मौका पाइरहँदा नेपाली टोलीका स्टार लेगस्पिनर सन्दीप लामिछाने भने अन्तिम १४ मा समावेश छैनन् ।

हङकङमा हुने चार देशीय टी–२० सिरिजका लागि रुपन्देहीको भैरहवास्थित सिद्धार्थ क्रिकेट मैदानमा बुधवारदेखि बन्द प्रशिक्षण सुरु भइसकेकाे छ ।

सिरिजमा अन्तरिम प्रशिक्षकका रूपमा स्थान बनाएका ज्ञानेन्द्र मल्लले नेपाली टोलीलाई प्रशिक्षण गराइरहेका छन् । यसअघि गत चैत १५ मा नेपाल क्रिकेट सङ्घ (क्यान) ले राष्ट्रिय पुरुष क्रिकेट टोलीको प्रशिक्षकमा अस्ट्रेलियाका स्टुअर्ट ललाई नियुक्त गरेको थियो ।

प्रशिक्षक ल नेपाल आउन ढिलाइ भएपछि क्यानले मल्ललाई प्रशिक्षकको जिम्मेवारी दिएको छ । यसअघि ज्ञानेन्द्र हङकङ सुपर सिक्सेसमा नेपाली टोलीको प्रशिक्षक थिए । मल्लले नेपालको ‘ए’ टोलीको प्रशिक्षक भएर पनि काम गरेका थिए ।

सिरिजमा नेपाल र हङकङसहित कुवेत र कतारले प्रतिस्पर्धा गर्नेछन् । नेपालले पहिलो खेल चैत २७ गते कतारसँग, चैत २८ गते कुवेतसँग र चैत ३० गते हङकङसँग खेल्नेछ । चैत ३१ गते तेस्रो स्थान र फाइनल खेल हुनेछ ।

© 2025 All right reserved Site By : Himal Creation || सूचना विभाग दर्ता नं : ४१२१–२०८०/२०८१