• २०८३ असार ८
  • 2026 June 22, Monday

देशमा विचौलियाहरुको विगविगी छ, सरकार सुशासन दिनै सक्दैन : डा.कोइराला

काठमाडौं । नेपाली कांग्रेसका नेता शेखर कोइरालाले हरेक ठाउँमा विचौलियाहरुको विगविगी बढेको बताएका छन् ।आइतवार डा.सुमन कर्माचार्यको ‘कात्रोमा खल्ती’ नामक पुस्तक बिमोचन कार्यक्रममा बोल्दै उनले देशको राजनीति परिस्थिती एकदमै नाजुक भएको भन्दै हरेक ठाउँमा विचौलियाहरुको विगविगी बढेको बताएका हुन् ।

‘अहिलेको देशको राजनीतिक परिस्थिती एकदमै नाजूक छ । दिनदिनै खराब हुँदै गइरहेको छ । विचौलियाहरुको विगविगी भएको छ । हरेक ठाउँ वा हरेक तप्काका विचौलियाहरु विगविगी छ । तर यो सरकार निर्माण गर्दा जुन कल्पना गरिएको थियो त्यो हामीले अगाडि बढाउनै सकेनौं । काम नै भएको छैन् ।’उनले देशको अर्थतन्त्रसँग खेल्ने अधिकार कसैलाई नभएको बताए । उनले राजनीतिक नेतृत्वमा इच्छाशक्ति भए देश बन्ने बताए ।

‘देशको अर्थतन्त्रसँग खेल्ने, मजाक गर्ने अधिकार कसैलाई छैन । उहाँहरु(सरकार)ले सुशासन दिन्छौ, देशमा भ्रष्ट्राचार न्यूनिकरण गर्छौ भन्नुभयो तर सुशासन कस्तो अवस्थामा छ मैले भनिरहन पर्दैन,’ उनले भने । उनले पुस्तक ‘कात्रोमा खल्ती’को प्रसंग झिक्दै हाल नेपालमा कात्रोमा खल्ती नै हुन्छ कि जस्तो गरी मानिसहरुले प्रबृत्ति देखाउन थालेको पनि बताए ।फरक प्रसंगमा डा.कोइरालाले केही स्थानमा राजनेता बीपी कोइरालाको शालिकमा मोसो दल्ने काम भएकोप्रति चिन्ता व्यक्त गरे । उनले भने,‘पश्चिमतिर वीपीको शालिकमा कालो मोसो दल्ने काम भएछ । त्यो राम्रो संस्कार होइन् । मोसो दल्दैमा बीपी कालो हुने पनि हैन् । वीपीबाट धेरै कुरा सिक्न जरुरी छ ।’कार्यक्रममा पुस्तकका लेखक सुमन कर्मचार्यले राजनीति भनेको दर्शन हो तर राजनीति दर्शन अनुसार नचलेकाले आफूले कलम चलाएको बताए । उनले राजनीतिक खराबीका विरुद्ध कलम चलाइरहने प्रतिवद्धता पनि जनाए ।