• २०८३ असार ८
  • 2026 June 22, Monday

जनताको बिचार बोक्न नसक्ने पार्टी मात्रै बुढो हुन्छ : डा. राजन भट्टराई

काठमाडौ । नेकपा एमालेका स्थायी कमिटी सदस्य एवं वाग्मती प्रदेश इञ्चार्ज डा.राजन भट्टराईले पार्टी कमिटीलाई विधिसम्मत रूपमा सञ्चालन गर्नुपर्ने बताएका छन् ।नेकपा एमाले सिन्धुलीको पाँचौँ सचिवालय बैठकमा बोल्दै भट्टराईले राजनीतिक दलले जनताको बिचार बोक्न सक्नु पर्ने बताए ।

जनताको विचार बोकेर समय अनुसार परिमार्जित हुँदा अघि बढ्ने पार्टी सधैँ नयाँ हुने उनको धारणा छ । ‘जनताको बिचार बोक्न नसक्ने पार्टी मात्रै बुढो हुने हो’, भट्टराईले भने । नेकपा एमाले स्पष्ट विचार र दृष्टिकोण बोकेको पार्टी भएकोले यो पार्टी सधैँ नयाँ हुने उनको भनाइ छ । जनताको बहुदलीय जनवाद बोकेर अघि बढेको पार्टी भएकोले एमाले सधैँ नयाँ जोस, विचार र सोचका साथ अघि बढेकोभट्टराईको धारणा छ ।एमालेले समाजलाई हानी हुने काम कहिल्यै पनि नगर्ने बताउँदै उनले एमाले गलत गर्नेलाई बचाउने पार्टी पनि नभएको स्पष्ट पारे । एमालेले जरा केन्द्रित अभियानका क्रममा जनताको समस्या र गुनासो सुन्ने र त्यसको सम्बोधन हुने गरी नीति बनाउने उनको धारणा छ । उनले एमालेका नेता कार्यकर्तालाई जनताबाट टाढा नबस्न निर्देशन दिए ।

बैठकलाई सम्बोधन गर्दै पार्टीका केन्द्रीय सदस्य एवं जिल्ला इञ्चार्ज मनोजजंग थापाले सिन्धुलीमा पार्टीको जरा अभियान प्रभावकारी रूपमा सञ्चालन भइरहेको बताए । पार्टीका नेताहरूलाई अभियानमा अझ सक्रियताका साथ लाग्न उनले आग्रह गरे ।बैठकले पार्टी सदस्यता नवीकरण र विस्तारको काममा लाग्ने बैशाख ६ र ७ गते जिल्ला कमिटीको बैठक गोलञ्जोर गाउँपालिकाको खनियाखर्कमा आयोजना गर्ने, चैत ३० गते नयाँ वर्षको अवसरमा शुभकामना आदानप्रदान कार्यक्रम गर्ने लगायतका निर्णय गरेको छ ।जिल्ला पार्टी अध्यक्ष महेन्द्रदेव श्रेष्ठको अध्यक्षतामा भएको बैठकमा केन्द्रीय सदस्यहरू गणेशकुमार पहाडी, विषमलाल अधिकारी दनुवार, कमलजङ्ग राई, उमा कोइराला, सुवास देवकोटा, निरु दर्लामी लगायत सहभागी थिए ।