बल्खु आज ‘हट स्पट’ : राप्रपाको प्रदर्शनलाई घेरेर कडा सुरक्षा रणनीति, ३५ सयभन्दा बढी सुरक्षाकर्मी परिचालन

काठमाडौँ – आज मंगलबार राजधानीको बल्खु क्षेत्र राजनीतिक गर्मीको केन्द्र बन्ने देखिएको छ। राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले बल्खु चोकमा आयोजना गर्न लागेको विरोधसभालाई लक्षित गर्दै सरकारले कडा सुरक्षा रणनीति अपनाएको छ।

हालै चैत १५ गते तीनकुनेमा दुर्गा प्रसाईँ र नवराज सुवेदीको नेतृत्वमा भएको प्रदर्शनमा देखिएको सुरक्षा कमजोरीको आलोचना खेपेको प्रहरी प्रशासन यसपटक सजग देखिएको छ। काठमाडौँ प्रहरी परिसरले बल्खु सभालाई विशेष निगरानीमा राख्दै २ हजारभन्दा बढी सुरक्षाकर्मी परिचालन गर्ने तयारी गरेको छ।

प्रहरीले बल्खु क्षेत्रमा ड्रोन तथा सीसी क्यामेराबाट निगरानी गर्ने, सशस्त्र प्रहरी र राष्ट्रिय अनुसन्धान विभागसँग समन्वय गरेर ‘एकीकृत सुरक्षा व्यवस्था’ लागू गर्ने रणनीति बनाएको छ।

जिल्ला प्रहरी परिसर काठमाडौँका एसपी अपिलराज बोहराका अनुसार, “राप्रपाका नेताहरूले शान्तिपूर्ण प्रदर्शन गर्ने प्रतिबद्धता जनाएका छन्, हरेक जोखिमलाई ध्यानमा राखेर रणनीति बनाउँने बताएका छन् ।”

सुरक्षाकर्मीहरूलाई तल्लो तहसम्म सूचना सेयर गरिने निर्णय भएको छ, जसअनुसार फिल्डमा खटिने जवानहरूलाई समेत आवश्यक ब्रिफिङ गरिएको छ।

यदि बल प्रयोग गर्नुपर्ने अवस्था आयो भने तीनवटै सुरक्षा निकाय – नेपाल प्रहरी, सशस्त्र प्रहरी र राष्ट्रिय अनुसन्धान विभाग – को समन्वयमा सिलसिलेवार बल प्रयोग गर्ने रणनीति अपनाइने प्रहरी अधिकारीहरूले बताएका छन्।

यसै बीच, सादा पोसाकमा खटिने प्रहरी र अनुसन्धान विभागका अधिकारीहरूले प्रदर्शनस्थलको सनो भन्दा सानो जानकारी संकलन गर्नेछन्।

काठमाडौँ जिल्ला प्रशासनले राप्रपालाई बल्खु चोकबाट त्रिभुवन विश्वविद्यालयतर्फको सडकमा मात्र कार्यक्रम गर्न अनुमति दिएको छ।

आज बल्खु बाहेक राजधानीका अन्य दुई प्रमुख स्थानहरूमा पनि प्रदर्शन हुनेछन्।
माइतीघर मण्डलामा शिक्षकहरूले र रत्नपार्कमा लघुवित्त पीडितहरूले विरोध प्रदर्शन गर्ने तालिका रहेको छ । यी दुबै स्थानमा झन्डै १५ सय सुरक्षाकर्मी परिचालन गरिनेछ। यद्यपि, यी क्षेत्रहरूमा प्रहरीलाई त्यति ठूलो अवाञ्छित गतिविधिको सम्भावना देखिएको छैन।

सोहि कारणले बल्खु आज विशेष निगरानीमा रहनेछ। तीनवटा सुरक्षा निकायबीचको समन्वय, उच्चस्तरीय बैठकको निर्णय र सम्पुर्ण पुर्वतयारीसँगै राजधानीमा शान्तिपूर्ण प्रदर्शन गराउने प्रयासमा यसपटक सुरक्षा संयन्त्र पूर्णरूपमा सजग देखिएको छ।

© 2025 All right reserved Site By : Himal Creation || सूचना विभाग दर्ता नं : ४१२१–२०८०/२०८१