• २०८३ असार ८
  • 2026 June 22, Monday

नेता लोहनी : “राजावादीको आन्दोलन शान्तिपूर्ण पनि हुनसक्छ र हिंस्रक पनि”

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीका नेता डा. प्रकाशचन्द्र लोहनीले राजावादी शक्तिहरूको आन्दोलन शान्तिपूर्ण र हिंस्रक दुवै रूपमा हुनसक्ने सम्भावना रहेको चेतावनी दिएका छन्।

राजावादी शक्तिहरूको एक समूह, संयुक्त जनआन्दोलन समितिले बुधबार काठमाडौंमा आयोजना गरेको पत्रकार सम्मेलनमा नेता लोहनीले सरकारलाई शान्तिपूर्ण आन्दोलनमाथि दमन नगर्न आग्रह गरे। उनले भने, “अब संघर्षको समय आएको छ। रावण प्रवृत्तिलाई हटाउने तरिका के थियो? रावण प्रवृत्ति हटाउन रामचन्द्रले हरेक उपाय अपनाएका थिए, र अन्ततः संघर्ष गर्नुपर्‍यो।” उनले पौराणिक प्रसंग जोड्दै भने, “संघर्षको माध्यमबाट मात्रै रावण हट्न सके, र रावण प्रवृत्तिको अन्त्य सम्भव भयो।”

नेता लोहनीले भने, “राज्यको क्रुरता सहेर पार्टी चुप बस्दैन। संघर्ष शान्तिपूर्ण र हिंस्रक दुवै प्रकारको हुनसक्छ।” उनले अझ भने, “नेपालको वर्तमान अवस्थामा राज्यले दमन गर्ने प्रयास गर्दैछ, सत्य बोल्ने व्यक्तिहरूलाई थुन्न र हत्या गर्न चाहिरहेको छ, र त्यसको विरोधमा संघर्षबाहेक अर्को उपाय छैन। संघर्ष शान्तिपूर्ण पनि हुनसक्छ र हिंस्रक पनि।”

लोहनीले पार्टीले शुरु गरेको आन्दोलन सफल पार्ने दाबी गरे, चाहे त्यो जुनसुकै तहमा पुगे पनि। उनले भने, “राप्रपाले भनेको छ हामी शान्तिपूर्ण संघर्षमा जाऔँ। तर शान्तिपूर्ण संघर्षलाई कमजोर नसम्झ। अत्याचार र दूराचार सहेर राप्रपा मुख बन्द गरेर बस्दैन। हामी अगाडि बढ्नेछौँ।”उनले नेपालीहरूलाई मनोवैज्ञानिक सुरक्षाका लागि राजसंस्था आवश्यक रहेको कुरा पनि भने।