काठमाडौ । प्रधानमन्त्री केपी शर्मा ओलीले पाणिनीको जन्म पाकिस्तानमा भएको भनाइलाई भ्रमपूर्ण रहेको दाबी गरेका छन्।अर्घाखाँचीमा भएको ‘पाणिनी तपोभूमि सम्मेलन’को उद्घाटन गर्दै प्रधानमन्त्री ओलीले पाणिनीको जन्मस्थान अर्घाखाँचीको पाणिनीमा भएकोमा कुनै शंका नरहेको बताएका छन्।
“विश्वका व्याकरणका पिता पाणिनी यही भूमिमा जन्मनुभएको हो, यो भूमि पवित्र र पुण्यभूमि हो, यहाँबाटै ज्ञानको आरम्भ भएको हो,” प्रधानमन्त्री ओलीले भने।उनले थपे, “ऋषिहरू ध्यान र तपस्याको लागि उपयुक्त भूमि खोज्थे, शिवका डमरुको ध्वनि सुनेर व्याकरण सृजनाका लागि पाणिनिको साधना यहीं भएको हो।
” पाणिनीको योगदान असाधारण रहेको उल्लेख गर्दै उनले अष्टाध्यायीमार्फत संस्कृत व्याकरणका ३,९५९ सूत्रहरूको निर्माण भएको र ती सूत्रहरू आजको आधुनिक प्रविधिमा, विशेषगरी कृत्रिम बौद्धिकता (एआई) विकासमा समेत प्रयोग भइरहेको बताए।”पाणिनिको व्याकरणपछि भाषा सरल बन्दै गयो, छन्दको सुरुवातसँगै संगीत र लयको विकास भयो,” उनले भने, “पाणिनिले मात्र नभई शिव, शृङ्ग्य ऋषि, पतञ्जली र अन्य महर्षिहरूको तप, साधना, योग, आयुर्वेद र ज्ञान साधनाको केन्द्रको रूपमा पाणिनीको प्रचारप्रसार गरी यसलाई धार्मिक तथा पर्यटकीय स्थलको रूपमा विकास गर्ने जिम्मा सरकारले लिन्छ।”
प्रधानमन्त्री ओलीले यस क्षेत्रको विकासमा नेपाल सरकारको ध्यान रहेको र यसलाई धार्मिक र पर्यटकीय स्थलको रूपमा विकसित गर्न सकिने विश्वास व्यक्त गरे।कार्यक्रममा मुख्यमन्त्री चेतनारायण आचार्य, प्रतिनिधि सभा सदस्य चन्द्र भण्डारी लगायतले पाणिनीको विकासमा सरकारको ध्यान जानुपर्नेमा जोड दिए। पाणिनी गाउँपालिका, रैनादेवी छहरा गाउँपालिका, पर्यटन विकास परिषद लुम्बिनी र नेपाल पर्यटन बोर्डको संयुक्त आयोजनामा शुरु भएको सम्मेलन दुई दिनसम्म चल्नेछ।