काठमाडौ । पछिल्लो २४ घण्टामा चट्याङका कारण देशभर ५ जनाको मृत्यु भएको छ। राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका अनुसार विभिन्न पाँच जिल्लामा ५ जनाले ज्यान गुमाएका छन्।
झापाको गौरादह नगरपालिका-५ स्थित बालुबथानमा ५४ वर्षीय पुरुषको मृत्यु भएको छ। पानीसँगै परेको चट्याङको झड्का लागेर उनको मृत्यु भएको हो।मोरङको कानेपोखरी गाउँपालिका-१ मा १२ वर्षीय बालकको मृत्यु भएको छ। धनुषाको नगराईन नगरपालिका-८ अकौरामा ६० वर्षीया महिलाको मृत्यु भएको छ। खेतमा काम गर्दै गर्दा चट्याङ लागेर उनी घटनास्थलमै मृत्यु भएकी हुन्।डोटीको सायल गाउँपालिका-६ दल्लेखमा ३३ वर्षीया महिलाको मृत्यु भएको छ। सो स्थानमा ७ जना घाइते भएका छन्।
बझाङको बित्थडचिर गाउँपालिका-३ मा ७८ वर्षीया महिलाको मृत्यु भएको छ। सो स्थानमा २ जना बालिका घाइते भएका छन्।गएको राति आएको वर्षाका कारण कालिकोटको रास्कोट नगरपालिका-६ मा लेदो र पानीको कारण एक घरमा क्षति पुगेको छ। सल्यानको कपुरकोट गाउँपालिका-३ स्थित चोरखोला राप्ती राजमार्गमा पहिरोका कारण क्षति पुगेको छ। त्यस्तै, कालिकोटको सुर्खेत-हुम्ला सडक अवरुद्ध भएको छ।विपद् परेर देशभर १६ जना घाइते भएको प्राधिकरणले जनाएको छ।