काठमाडौ। तीनकुने घटनाका मुख्य योजनाकार दुर्गा प्रसाईंलाई कम्तीमा १२ दिन हिरासतमा राखेर अनुसन्धान गर्ने तयारी गरिएको छ।
प्रहरीले जिल्ला सरकारी वकिलको कार्यालयमा प्रसाईंविरुद्ध १२ दिनको म्याद थपको लागि निवेदन दिएको छ। उनीसँगै पक्राउ परेका उनका बडिगार्ड दीपक खड्कालाई पनि सोही अवधि हिरासतमा राख्न अनुमति माग गरिएको हो।
यसअघि, गत चैत २६ गते सोही प्रदर्शनका क्रममा पक्राउ परेका राप्रपा नेताहरू रवीन्द्र मिश्र र धवलशमशेर जबरालाई १५ दिनको म्याद थप गरिएको थियो। उनीहरूसँग अनुसन्धानको समय मिलाउनका लागि प्रसाईं र खड्काका हकमा पनि १२ दिनको म्याद थप गर्न माग गरिएको प्रहरी स्रोतको भनाइ छ।
भारतबाट पक्राउ परेका प्रसाईंलाई केही समयअघि जिल्ला प्रहरी परिसर, काठमाडौं ल्याइएको थियो। आवश्यक प्रक्रिया पूरा गरेर उनलाई सरकारी वकिलको कार्यालय लगिएको छ। त्यहाँबाट केहीबेरमै उनलाई जिल्ला अदालत, काठमाडौं पठाइनेछ।
प्रसाईंविरुद्ध आजै म्याद थपको प्रक्रिया अघि बढाइने तयारी गरिएको छ। प्रहरी स्रोतका अनुसार, ज्यान मार्ने उद्योगलगायतका अभियोगमा उनीविरुद्ध मुद्दा दर्ता गरिनेछ।गत चैत १५ गते तीनकुनेमा भएको प्रदर्शनपछि प्रसाईं फरार रहेका थिए।