
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले नयाँका नाममा भइरहेको हल्लाका पछि नलाग्न आग्रह गरेका छन् । शनिबार झापाको दमकमा पार्टीले आयोजना गरेको जागरण सभालाई सम्बोधन गर्दै एमाले अध्यक्ष समेत रहेका ओलीले यस्तो बताएका हुन् ।
रास्वपा सभापति रवि लामिछानेलाई लक्षित गर्दै प्रधानमन्त्री ओलीले नयाँहरु कोही सहकारी ठग त कोही साहुमारा भएको आरोप लगाए ।
उनले आफ्नो पार्टीले सरकारको नेतृत्व गर्दा सधैं सकारात्मक काम भएको जिकिर गरे।प्रधानमन्त्री ओलीले भने, ‘यस्ताको पछि लागेर हुँदैन । उनीहरुको असली अनुहार चैत १५ गते देखिइसकेको छ ।’
प्रधानमन्त्री ओलीले नयाँको हालत देखिएको र उनीहरुको पछाडि लाग्न नहुने बताए । देश अहिले अस्थिरताबाट हटेर स्थिरतातर्फ लम्किएको उनको भनाइ छ ।
प्रधानमन्त्री ओलीले अब नयाँ बजेट बनाउने बेला भएकाले अहिलेको आवश्यकताअनुसार नीति र योजना आउने बताए । उनले बजेट बनाउँदा किसानको समस्या र सुकुमबासी समस्या कसरी समधान गर्ने भनेर विचार पुर्याइने बताए।