• २०८३ असार १७
  • 2026 July 01, Wednesday

सामाजिक सञ्जाल प्रतिबन्धबारे पुनर्विचार हुनसक्ने सरकारका प्रवक्ताको संकेत

काठमाडौँ । सरकारका प्रवक्ता तथा सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वी सुब्बा गुरुङले सामाजिक सञ्जाल प्रतिबन्धसम्बन्धी निर्णयबारे मन्त्रिपरिषद्मा पुनर्विचार हुने संकेत गरेका छन्।

प्रधानमन्त्री केपी शर्मा ओलीले सोमबार मन्त्रिपरिषद्को बैठक बोलाएका छन्। सो बैठकमा यस विषयमा छलफल हुने उनले बताएका छन्।

‘जनताको ज्यानभन्दा ठूलो सरकारको निर्णय हुँदैन। नीतिगत रूपमा सरकारले गरेका निर्णय पुनर्विचार गर्नुपर्ने भयो भने अडिग भएर बस्नुको कुनै अर्थ छैन’, प्रवक्ता गुरुङले भने।

आइतबार काठमाडौंमा भएको जेन जी आन्दोलन नियन्त्रणका क्रममा प्रहरीले बल प्रयोग गर्दा अहिलेसम्म १४ प्रदर्शनकारीको मृत्यु भएको छ भने सयाैँ घाइते छन् । यसबारे दुःख व्यक्त गर्दै गुरुङले शान्तिपूर्ण प्रदर्शन गर्न सक्ने अधिकार सबैलाई भए पनि आन्दोलन उग्र र नियन्त्रणबाहिर गएपछि राज्य बल प्रयोग गर्न बाध्य भएको बताए ।

‘जे जति तर्क गरे पनि मान्छे मर्नु दुःखद कुरा हो। यस्तो फेरि नहोस् भन्ने मेरो चाहना छ’, उनले भने।