जनजाति कल्याण आश्रमद्वारा सञ्चालित ‘आमाको माया छात्रावास’को १५औं वार्षिकोत्सव भव्य रूपमा सम्पन्न

काठमाडौं । जनजाति कल्याण आश्रम नेपालद्वारा सञ्चालित ‘आमाको माया छात्रावास’ को १५औं वार्षिकोत्सव वागमती प्रदेशमा एक भव्य समारोहका साथ सम्पन्न भएको छ ।

कार्यक्रममा प्रमुख अतिथि नेपाल सरकारका युवा तथा खेलकुद मन्त्री तेजुलाल चौधरीले जनजाति समुदायमा अपार सम्भावना भए तापनि विकासको मूलधारमा पछाडि परिरहेको उल्लेख गर्दै यस पृष्ठभूमिमा आश्रमले गरिरहेको कार्यको प्रशंसा गरेका थिए ।

कार्यक्रममा विशिष्ट अतिथि भारतीय सांसद तथा लोकप्रिय कलाकार अरुण गोविलले जनजाति बालबालिकाको शिक्षामार्फत उज्वल भविष्य निर्माणमा लागेको ‘आमाको माया छात्रावास’ अभियानप्रति उच्च सम्मान प्रकट गरेका थिए ।

उनले भने‘ जो बच्चा कहिले केवल परमात्माको सहारामा हुन्थे, आज उनीहरूका लागि आश्रमको सेवा जीवनको आधार बनेको छ ।’ सबैको साथ, सबैको प्रयास, सबैको सहयोग, सबैको विश्वास एकसाथ लिएर कुनै पनि अभियानले गति पाउने भन्दै उनले सबैलाई कल्याण आश्रमका यस अभियानसँग सामर्थ्यानुसार जोडिन पनि आग्रह गरेका छन् ।

हिन्दू स्वयंसेवक संघ नेपालका राष्ट्रिय सहप्रचारक रेवित कुमारले कार्यक्रमलाई सम्बोधन गर्दै जनजाति समुदाय धर्मान्तरणका लागि सबैभन्दा सजिलो लक्ष्य भएकाले विधर्मीहरू यस क्षेत्रमा सक्रिय रहेको र त्यसले परम्परा, संस्कृति र आस्थामाथि खतरा उत्पन्न गरिरहेको बताए। ‘मन्दिर, गुम्बा, जस्ता धार्मिक स्थलहरूमा जाने व्यक्ति स्वधर्ममा रहेमात्र ती स्थलहरू सुरक्षित रहन सक्छन् ।’ उनको भनाइ थियो। उनले जनजाति समुदायको संरक्षण र उत्थान समग्र समाजको साझा जिम्मेवारी भएकोमा जोड दिएका छन् ।

आश्रमका महासचिव प्रेम थुलुङले छात्रावासको सुरूआत चार बालबालिकाबाट भएको स्मरण गर्दै हाल देशका विभिन्न ११ स्थानमा यसले सेवा पुर्‍याइरहेको जानकारी दिए । आउँदो वर्षमा थप विस्तार र गुणस्तरीय सुधारको प्रतिबद्धता समेत व्यक्त गरेका थिए ।

कार्यक्रमको अध्यक्षता प्रमोद चौधरी अग्रवालले गरेका थिए । उनले आश्रमले गरेका सेवामूलक कार्यहरूले जनजाति समुदायको शिक्षामा नयाँ आशा र सम्भावना सिर्जना गरेको उल्लेख गरेका थिए ।

यस वार्षिकोत्सवले ‘आमाको माया छात्रावास’ मात्र नभई समग्र जनजाति समुदायको शैक्षिक, सांस्कृतिक र धार्मिक संरक्षण तथा समृद्धिको मार्ग प्रशस्त गर्ने स्पष्ट संकेत दिएको छ।

© 2025 All right reserved Site By : Himal Creation || सूचना विभाग दर्ता नं : ४१२१–२०८०/२०८१