• २०८३ असार ८
  • 2026 June 22, Monday

रवि लामिछानेले थुनामुक्त हुने माग गर्दै दायर गरेको निवेदन न्यायाधीश ढुंगानाको इजलासमा पेश

काठमाडौं – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति तथा पूर्वगृहमन्त्री रवि लामिछानेद्वारा दायर गरिएको पुनरावेदन निवेदन सर्वोच्च अदालतमा पेश भएको छ। उक्त निवेदनमाथि सुनुवाइ न्यायाधीश टेकप्रसाद ढुंगानाको एकल इजलासमा आज हुने भएको छ।

हाल भैरहवा कारागारमा रहेका लामिछानेले आफूलाई थुनाबाहिर राखेर मुद्दाको पुर्पक्ष गर्न पाउनुपर्ने माग गर्दै गत शुक्रबार सर्वोच्च अदालतमा पुनरावेदन निवेदन दर्ता गराएका थिए। उनको तर्फबाट उक्त निवेदन उनकी पत्नी निकिता लामिछानेले दर्ता गरेकी थिइन्।उक्त मुद्दा आजको पेसी सूचीमा ढुंगानाको इजलासको पहिलो नम्बरमा परेको छ।

यसअघि, गत माघ १३ गते रुपन्देही जिल्ला अदालतका न्यायाधीश प्रह्लादकुमार योगीको इजलासले बुटवलस्थित सुप्रिम सहकारी ठगी प्रकरणमा लामिछानेलाई १ करोड रुपैयाँ धरौटीमा रिहा गर्ने आदेश दिएको थियो। तर सो आदेशविरुद्ध सरकारी वकिल पक्ष र स्वयं लामिछाने दुबैले उच्च अदालत बुटवलमा पुनरावलोकनका लागि निवेदन दिएका थिए।सरकारी पक्षले धरौटी आदेश बदर गरी पुर्पक्षका लागि थुनामा राख्नुपर्ने माग राखेको थियो भने लामिछानेले आफूलाई साधारण तारेखमा रिहा गर्नुपर्ने माग गरेका थिए।

दुवै पक्षको निवेदन एकैसाथ उच्च अदालत तुलसीपुरको बुटवल इजलासमा सुनुवाइ गरिएको थियो। सो इजलासका न्यायाधीशद्वय रमेश ढकाल र स्वीकृति पराजुलीले जिल्ला अदालतको आदेश खारेज गर्दै लामिछानेलाई पुर्पक्षका लागि थुनामा राख्न आदेश दिएका थिए।सर्वोच्च अदालतमा पुनरावेदनपछि रवि लामिछानेले अदालतको आदेशको सम्मान गर्दै, “शरीरमा रगत रहेसम्म लडाइँ जारी रहनेछ,” भन्ने प्रतिक्रिया दिएका छन्।