• २०८३ असार ८
  • 2026 June 22, Monday

पुल निर्माणमा भ्रष्टाचार, ८ जनाविरुद्ध कानूनी कारवाही

काठमाडौँ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले बाजुराको त्रिवेणी नगरपालिका ६ स्थित किम्नी खोलामा ट्रस पुल निर्माणमा भ्रष्टाचार गरेको आरोपमा ८ जनाविरुद्ध विशेष अदालत काठमाडौँमा मुद्दा दायर गरेको छ।

अख्तियारले आइतबार तत्कालीन निमित्त प्रमुख प्रशासकीय अधिकृतहरू तीर्थराज थापामगर र खगेन्द्र साउदसहित त्रिवेणी नगरपालिकाका तत्कालीन इन्जिनियर नविन साउद, सबइन्जिनियर राजेन्द्र बहादुर बिक, असिस्टेन्ट सब-इन्जिनियर राजेन्द्र बहादुर साउद, किम्नी खोला ट्रस पुल निर्माण उपभोक्ता समितिका अध्यक्ष जंगबहादुर बुढा, सचिव डम्मबहादुर बुढा र कोषाध्यक्ष तुलीदेवी बुढाविरुद्ध आरोपपत्र दर्ता गरेको हो।

पुल निर्माणमा अनियमितता गरेको भन्दै परेको उजुरीमाथि छानबिन गर्दा आर्थिक वर्ष २०७४/७५ र २०७५/७६ मा किम्नी खोलामा ट्रस पुल निर्माण कार्यमा उत्खनन, ढुङ्गा सोलिङ, पीसीसी, स्टिल, स्टिल पार्ट्स र सिमेन्टको काम वास्तविक स्थलमा भएको भन्दा नापी किताबमा बढी भद्रिएको र झूटा बिल भुक्तानी गरेको पाइएको अख्तियारको भनाइ छ।

अख्तियारले निमित्त प्रमुख प्रशासकीय अधिकृत थापामगर र साउदसँग क्रमशः २ लाख ६ हजार र २ लाख २४ हजार रुपैयाँ बिगो दावी गर्दै तीन महिनादेखि एक वर्षसम्म कैद सजाय माग गरेको छ। अन्य कर्मचारीहरूका हकमा ४ लाख ३१ हजार ४८६ रुपैयाँ बिगो दावी र एक वर्षसम्मको कैद सजायको माग गरिएको छ।