• २०८३ असार ३१
  • 2026 July 15, Wednesday

राजतन्त्र फर्कने कुरा केवल भ्रम हो : नेता बास्कोटा

काठमाडौँ ।। नेकपा एमालेका सांसद गोकुल बास्कोटाले नेपालमा राजतन्त्रको भविष्य समाप्त भइसकेको टिप्पणी गरेका छन्। उनका अनुसार १८ वर्षअघि नै राजतन्त्रको युग अन्त्य भइसकेको छ र त्यसको पुनरागमन असम्भव छ।

“नेपालमा राजतन्त्र भूत भइसकेको छ, भविष्य होइन,” पूर्व सूचना तथा सञ्चारमन्त्रीसमेत रहेका बास्कोटाले भने। काभ्रेपलाञ्चोकमा प्रेस चौतारी नेपालले आयोजना गरेको नयाँ वर्षको शुभकामना आदानप्रदान कार्यक्रममा सम्बोधन गर्दै उनले राजतन्त्र अब इतिहासको पानामै सीमित रहेको बताए।

बास्कोटाले नेपाल हाल लोकतन्त्रको राजमार्गमा अगाडि बढिरहेको उल्लेख गर्दै यस प्रणालीका कमजोरीहरूलाई सुधार गर्दै बलिया पक्षलाई थप सुदृढ बनाउँदै समाजलाई अघि बढाउने प्रतिबद्धता व्यक्त गरे।

उनले नेपाली पत्रकारिता पनि लोकतान्त्रिक प्रणालीमै आफ्नो स्वतन्त्रता, सार्थकता र भविष्य सुनिश्चित गर्न सकिने विश्वासमा अघि बढिरहेको बताए। “नेपाली प्रेसले लोकतन्त्रमै पत्रकारिताको भविष्य सुरक्षित छ भन्ने कुरालाई आत्मसात् गरिसकेको छ भन्नेमा म विश्वस्त छु,” उनले भने।