• २०८३ असार ३१
  • 2026 July 15, Wednesday

छुट्टाछुट्टै दुर्घटनामा एकको मृत्यु, तीन घाइते

काठमाडौँ । जिल्लामा भएका दुई छुट्टाछुट्टै सवारी दुर्घटनामा एक जनाको मृत्यु भएको छ भने तीन जना घाइते भएका छन्।

मृतक पर्सा जिल्ला, सकुहवा प्रसौनी गाउँपालिका–२ का अन्दाजी २५ वर्षीय लालबाबु पासवान रहेको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ।
प्रहरीका अनुसार भरतपुर महानगरपालिका–४ स्थित सापकोटा चोक नजिक बा.प्र.०६–००१ च ०३४९ नम्बरको कारले पैदलयात्री पासवानलाई ठक्कर दिएको थियो।

आज बिहानै भएको उक्त दुर्घटनामा गम्भीर घाइते भएका पासवानको उपचारका क्रममा भरतपुर अस्पतालमा मृत्यु भएको हो।दुर्घटनापछि कारसहित चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ।त्यस्तै, रत्ननगर नगरपालिका–६ स्थित दाराहात्ती चोकमा जङ्गल सफारीका क्रममा जीप दुर्घटना हुँदा तीन जना यात्रु घाइते भएका छन्।

ना ४ च ३३५५ नम्बरको जीप आफैं अनियन्त्रित भई पल्टिँदा उक्त दुर्घटना भएको प्रहरीले जनाएको छ।घाइतेमध्ये तीनै जनाको अवस्था सामान्य रहेको प्रहरी नायब उपरीक्षक रवीन्द्र खनालले जानकारी दिए।जीपमा सवार अन्य सात जना यात्रु सकुशल रहेका छन् भने चालकलाई नियन्त्रणमा लिइएको छ।