• २०८३ असार ८
  • 2026 June 22, Monday

तीव्र विकास जनताको चाहना, पूरा गर्नु सबैको साझा दायित्व हो : राष्ट्रपति पौडेल

काठमाडौं। राष्ट्रपति रामचन्द्र पौडेलले न्यून आर्थिक वृद्धिको चक्रबाट देशलाई मुक्त गर्दै नेपाली जनताको तीव्र विकासको आकांक्षा पूरा गर्नु सबैको साझा दायित्व भएको बताएका छन्।बनेपा, मण्डन देउपुर, चाँगुनारायण र शङ्खरापुर नगरपालिकाले संयुक्त रूपमा आयोजना गरेको ‘नगरकोट भ्रमण वर्ष २०८२’ को सोमबार उद्घाटन गर्दै राष्ट्रपति पौडेलले समृद्ध नेपाल निर्माणका लागि अर्थतन्त्र सुधार, रोजगारी सिर्जना र लगानीमैत्री वातावरण निर्माण अपरिहार्य भएको बताए।

उनले पर्यटन, कृषि, जलस्रोत, ऊर्जा, सूचना प्रविधि र उद्योगलाई देशको आर्थिक मेरुदण्डको रूपमा परिभाषित गर्दै यी क्षेत्रमा नीति, कानुन र अवसर सिर्जना गर्न राज्य गम्भीर हुनुपर्ने बताए। “उत्पादन लागत घटाएर प्रतिस्पर्धा बढाउँदै औद्योगिकीकरणलाई प्रवर्द्धन गर्नु आवश्यक छ,” उनले भने।सांस्कृतिक, ऐतिहासिक र धार्मिक सम्पदालाई आर्थिक समृद्धिमा रूपान्तरण गर्न पूर्वाधार विकास र जनशक्ति सीप अभिवृद्धि आवश्यक रहेको उल्लेख गर्दै उनले नगरकोट क्षेत्रको प्राकृतिक, ऐतिहासिक र धार्मिक महत्वलाई प्रयोग गरी पर्यटन क्षेत्रलाई आम्दानी र समृद्धिको आधार बनाउनु पर्ने धारणा राखे।

“नगरकोट स्वदेशी तथा विदेशी पर्यटकको रोजाइमा रहेको ठाउँ हो,” पौडेलले भने, “यसलाई अझ विकसित, सुविधासम्पन्न र आधुनिक बनाउन चारवटै नगरपालिका, संघीय तथा प्रदेश सरकार, पर्यटन व्यवसायी र स्थानीयवासीबीच सहकार्य हुन जरुरी छ।”राष्ट्रपति पौडेलले चाँगुनारायण मन्दिर, महादेव पोखरी, मञ्जुश्री गुफा, ऐतिहासिक पुतली दरबार, शालीनदी, बज्रयोगिनी मन्दिर, साँखु बजार र पदमार्गहरूलाई जोड्दै यस क्षेत्रको पर्यटन विकासमा थप सम्भावना रहेको बताए।उनले नगरकोटलाई केन्द्रमा राखेर पूर्वाधार विकास, सम्पदा प्रवर्द्धन र सडक स्तरोन्नति जस्ता कार्यमा गम्भीर ध्यान दिन आग्रह गरे।