काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले विद्यालय शिक्षा सुधारका लागि शिक्षामा बजेट वृद्धि गर्ने र विद्यालय शिक्षा विधेयक, २०८१ पारित गराउने प्रतिबद्धता व्यक्त गरेका छन्।
नयाँ शैक्षिक सत्रको अवसरमा शुभकामना सन्देश दिँदै प्रधानमन्त्री ओलीले शिक्षा क्षेत्रमा लगानी बढाउँदै दीगो विकास लक्ष्य (SDG) प्राप्त गर्न र शिक्षा विधेयक छलफलसहित पारित गर्न सरकार प्रतिबद्ध रहेको स्पष्ट पारे।”सबै बालबालिकाको विद्यालयमा सहभागिता र गुणस्तरीय शिक्षाको सुनिश्चितता भन्ने नारासहित शैक्षिक सत्र २०८२ को विद्यार्थी भर्ना अभियान सुरु भएको छ,” उनले भने।
प्रधानमन्त्री ओलीले अझै करिब २० प्रतिशत जनसंख्या निरपेक्ष गरिबीको रेखामुनि रहेको तथ्य उल्लेख गर्दै गरिबी न्यूनीकरणका लागि शिक्षालाई पहिलो सर्तका रूपमा लिएका छन्। “बालबालिकालाई विद्यालयबाहिर राखेर हामी राष्ट्रिय लक्ष्यमा पुग्न सक्दैनौं,” उनले भने, “खुद भर्नादरमा सुधार देखिए पनि टिकाउ दर बढाउन अझै मेहनत गर्नुपर्ने छ।”शिक्षालाई स्थानीय ज्ञान, सीप र प्रविधिसँग जोड्दै आधुनिक बनाउनु पर्नेमा उनले जोड दिए। साथै, अनिवार्य तथा निःशुल्क आधारभूत शिक्षा र निःशुल्क माध्यमिक शिक्षा सुनिश्चित गर्न संघ, प्रदेश र स्थानीय सरकारबीच सहकार्य र लगानी साझेदारी आवश्यक रहेको बताए।