• २०८३ असार ३१
  • 2026 July 15, Wednesday

नेपाल महिला संघका २० केन्द्रीय सदस्यद्वारा सामूहिक राजीनामा

काठमाडौँ । नेपाली कांग्रेसको भ्रातृसंस्था नेपाल महिला संघका २० जना केन्द्रीय सदस्यले सामूहिक रूपमा राजीनामा दिएका छन्। राजीनामा दिने सबै सदस्यहरू पार्टीको शेखर–गगन पक्षका हुन्।

राजीनामा दिनेहरूमा चन्द्रादेवी जोशी, रिता शाही, छायाँ सुनार, डा. अमिता प्रधान शाक्य, उमा शिवाकोटी, रञ्जिता गिरी, डा. सिता घिमिरे, तारा थपलिया लगायत छन्।उनीहरूले महिला संघले विधानअनुसार काम गर्न नसकेको र संगठन कमजोर बन्दै गएको भन्दै पद त्याग गरेको बताएका छन्।

राजीनामा पत्रमा उल्लेख गरिएको छ, “विभिन्न विषयमा अध्यक्षबाट कुनै पनि पहल र सुनुवाइ नभएको कारण, संगठनको साख र प्रभाव निरन्तर घट्दै गएको अवस्थालाई चुपचाप हेरेर बस्न सक्दैनौं। त्यसैले पार्टी र महिला संघको उज्वल भविष्यका लागि हामीले केन्द्रीय सदस्य पदबाट सामूहिक राजीनामा दिएका छौं।”

हालै बागलुङमा निर्वाचित र क्रियाशील अध्यक्ष शकुन्तला शर्मालाई ‘रिक्त’ घोषणा गर्दै हटाइएको घटनाले शेखर–गगन पक्षको असन्तुष्टि थप चुलिएको थियो। उनीहरूले उक्त कदमलाई अवैधानिक र अपमानजनक भनेका छन्।