• २०८३ असार ८
  • 2026 June 22, Monday

म कांग्रेस र कम्युनिष्ट दुइवटै गुण भएको नयाँ मान्छे : बाबुराम भट्टराई (भिडिओसहित)

काठमाडौं । नेपाल समाजवादी पार्टी (नयाँ शक्ति )का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले उदारवादी लोकतन्त्र र समाजवादी लोकतन्त्र एउटै रुखका दुई हाँगा भएको बताएका छन् ।

बुधबार नेपाली काँग्रेसका नेता एवं जिल्ला विकास समिति गोरखाका पूर्वसभापति स्व. चन्द्रप्रसाद न्यौपानेको पहिलो स्मृति तथा ग्रन्थको लोकार्पण गर्दै उनले भने, ‘लोकतन्त्र नै प्रमुख कुरा हो । उदारवादी लोकतन्त्र र समाजवादी लोकतन्त्र यी एउटै रुखका दुई वटा हाँगा हुन् । हामीले एकले अर्कालाई निषेध गर्नुभन्दा पनि एक अर्काका राम्रा गुणहरू सिक्ने, खराब गुणलाई त्याग्ने गरी अगाडी बढ्यौँ भने हामीले सङ्घीय लोकतान्त्रिक गणतन्त्रलाई रक्षा गरेर अगाडी जान सक्नेछौँ ।’

भट्टराईले आफू कांग्रेस र कम्युनिस्ट दुवै गुण भएको र अलि अगाडी बढेको मान्छे भएको जिकिर गरे । उनले आफू सामन्तवाद, निरङ्कुशता र राजतन्त्र विरोधी चेतना बोकेर लागेको मान्छे भएको बताउँदै ०३३ सालसम्म काँग्रेसको निकट र त्यसपछि २०७३ सम्म कम्युनिस्ट पार्टीमा रहेर राजतन्त्रको विरोधमा खरो प्रस्तुत भएको बताए ।

उनले भने, ‘म त सामन्तवाद, निरङ्कुशता र राजतन्त्र विरोधी चेतना बोकेर लागेको मान्छे हो । त्यसैले ०३३ सालसम्म काँग्रेसको निकटमा रहे । म कुनै पार्टीमा थिइनँ । नातागोताहरू सबै काँग्रेसी हुनुहुन्थ्यो । त्यति बेला बिपीले राजासँग मेलमिलाप भनेर आउनुभयो, त्यति बेला बिपीलाई नै यो ठिक छैन भनेर भनेको थिए । पछि, कम्युनिस्टहरूले राजतन्त्र अन्त्यको नारा दिन्थेँ । त्यस बेला गणतन्त्रको पक्षमा रहेका कम्युनिस्टहरूसँग लागेर ०७२ सालसम्म कम्युनिस्ट पार्टीमा रहे । मेरो सार नै राजतन्त्र ठिक होइन भन्ने हो । म अलिकति काँग्रेस हो । अलिकति कम्युनिस्ट हो । दुवैको गुण भएको र अलि अगाडी बढेको मान्छे हुँ ।’

हेर्नुहोस् भिडिओ: