• २०८३ असार ३१
  • 2026 July 15, Wednesday

व्यवस्थाविरुद्धको हमला कुनै हालतमा स्वीकार्य छैन : गृहमन्त्री लेखक

काठमाडौं । गृहमन्त्री रमेश लेखकले संविधान र वर्तमान व्यवस्थाविरुद्ध हुने कुनै पनि गतिविधि निस्तेज गर्नु सरकारको प्रमुख जिम्मेवारी भएको बताएका छन्।

शुक्रबार पोखरामा आयोजित प्रादेशिक आपतकालीन गोदाम हस्तान्तरण कार्यक्रममा बोल्दै गृहमन्त्री लेखकले ठूलो बलिदानबाट बनेको संविधानको रक्षा गर्नु सरकारको पहिलो दायित्व भएको स्पष्ट पारे।“पूर्वराजाका नाममा वा कुनै समूहका नाममा संविधान र व्यवस्थाविरुद्ध प्रहार गर्न खोज्ने प्रयास कुनै हालतमा स्वीकार्य हुँदैन,” उनले भने, “यस्ता गतिविधि क्षम्य हुने छैनन्।”

गृहमन्त्री लेखकले संविधान सानातिना संशोधन हुन सक्ने भए पनि त्यो कुनै हालतमा पश्चगामी हुनु नहुने बताए।“हामी सहमतिका आधारमा आवश्यक संशोधन गर्न सक्छौं, तर त्यो संशोधन लोकतान्त्रिक संघीय व्यवस्था बलियो पार्ने दिशातर्फ मात्रै हुनुपर्छ,” उनले प्रष्ट पारे।उनका अनुसार अहिलेको संविधान नेपालको जनआन्दोलन, संघीयता, गणतन्त्र, धर्मनिरपेक्षता र समावेशी लोकतन्त्रको जग हो, जसको संरक्षण सबै राजनीतिक शक्तिहरूको साझा जिम्मेवारी हो।