काठमाडौ। कपिलवस्तुको शुद्धोधन गाउँपालिकाका अध्यक्ष कमलेशशरण चौधरीलाई लक्षित गर्दै गएराति गोली प्रहार गरिएको छ।
चौधरीको निजी निवासमा भएको उक्त घटनाबारे जानकारी दिँदै जिल्ला प्रहरी कार्यालय कपिलवस्तुका प्रवक्ता प्रहरी नायब उपरीक्षक मोहनमणि अधिकारीले रातोपाटीलाई बताए, “उहाँलाई लक्षित गरी गोली प्रहार भएको पुष्टि भएको छ।”
घटनाका बेला विद्युत् आपूर्ति बन्द रहेको र चौधरी शौचालयबाट फर्कँदै गर्दा गोली प्रहार भएको प्रारम्भिक जानकारी छ।प्रहरीका अनुसार गोली घरको भित्तामा लागेको छ भने घटनास्थलबाट एक थान गोलीको खोका समेत बरामद गरिएको छ।प्रहरीले घटनाबारे थप अनुसन्धान सुरु गरेको जनाएको छ।