तोकेको म्यादभित्र दर्ता नभए फेसबुक लगायतका सामाजिक सञ्जालमाथि प्रतिबन्ध लगाइन्छ : मन्त्री गुरुङ

काठमाडौ। सञ्चार तथा सूचना प्रविधि मन्त्री पृथ्वीसुब्बा गुरुङले सरकारले तोकेको समयसीमाभित्र दर्ता नभए फेसबुक लगायतका सामाजिक सञ्जालमाथि प्रतिबन्ध लगाइने स्पष्ट पारेका छन्।

शुक्रबार काठमाडौँमा सञ्चारिका समूह नेपालको ९औँ महाधिवेशनलाई सम्बोधन गर्दै मन्त्री गुरुङले नेपालमा सञ्चालनमा रहेका सबै सामाजिक सञ्जाल प्लेटफर्महरूले नेपालको कानुन पालना गर्नुपर्ने बताए। उनले सरकारले दिएको थप एक महिनाको समय सकिन अब केही दिन मात्रै बाँकी रहेको उल्लेख गर्दै हालसम्म फेसबुक लगायतका प्रमुख सामाजिक सञ्जालले दर्ता प्रक्रिया पूरा नगरेको जानकारी गराए।उनका अनुसार, सामाजिक सञ्जालसम्बन्धी कानुन कुनै माध्यमलाई बन्द गर्न नभई नियमन गर्न ल्याइएको हो।

प्रविधिको दुरुपयोग गरेर देश, राजनीतिक दल तथा नागरिकलाई कमजोर बनाउने प्रयास भइरहेको भन्दै उनले यस्तो क्रियाकलाप रोक्न सरकार गम्भीर रहेको बताए।त्यसैगरी, मन्त्री गुरुङले चैत्र १५ गते काठमाडौँमा राजावादी समूहले आयोजना गरेको आन्दोलनलाई प्रतिगामी र संविधानविपरीतको भन्दै आलोचना गरे। उनले शान्तिपूर्ण भेला हुने अधिकारको दुरुपयोग गरी हिंसात्मक गतिविधि गरिएको आरोप लगाउँदै त्यसमा संलग्नहरूलाई कारबाही हुने बताए। साथै, मुलुकमा राजतन्त्र फर्किने कुनै सम्भावना नरहेको उनको भनाइ थियो।कार्यक्रममा ‘सञ्चारिका अग्रणी सम्मान’ पत्रकार उषा लोहनी र डा. हरिकला अधिकारीलाई प्रदान गरिएको छ। यस्तै, ‘सञ्चारिका समानता पुरस्कार’ धनु विश्वकर्मालाई र ‘स्व. उमासिंह पत्रकारिता पुरस्कार’ पत्रकार सपना कुमारी कर्णलाई प्रदान गरिएको हो।

© 2025 All right reserved Site By : Himal Creation || सूचना विभाग दर्ता नं : ४१२१–२०८०/२०८१