काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)को आज काठमाडौंमा हुने प्रदर्शनलाई लक्षित गर्दै सुरक्षा व्यवस्थामा कडाइ गरिएको छ।प्रमुख प्रशासनिक क्षेत्रहरू—सिंहदरबार, संसद भवन नयाँबानेश्वर, माइतीघर मण्डला, प्रधानमन्त्री निवास बालुवाटार, राष्ट्रपतिको कार्यालय लगायतका क्षेत्रमा अघिल्ला दिनहरूको तुलनामा आज सुरक्षाकर्मीहरूको उपस्थिति उल्लेख्य रुपमा बढाइएको छ।
काठमाडौं उपत्यका प्रहरी कार्यालय, रानीपोखरीका एआईजी टेक तामाङले राप्रपाको प्रदर्शनलाई ध्यानमा राखी विशेष सुरक्षा रणनीति तयार गरिएको जानकारी दिए। उनका अनुसार, सुरक्षाकर्मीहरूलाई विभिन्न संवेदनशील स्थानहरूमा खटाइएको छ।“हामी प्रदर्शनलाई शान्तिपूर्ण बनाउने प्रयासमा छौं,” एआईजी तामाङले भने, “तर निषेधित क्षेत्र तोड्न दिइने छैन। यदि कसैले जबर्जस्ती गर्ने प्रयास गयो भने आवश्यक बल प्रयोग गर्नुपर्ने हुन सक्छ।”
लिङ्देनको सन्देश : ‘सरकार नडराओस्, हामी शान्तिपूर्ण छौं’
राजसंस्था पुनर्स्थापना र हिन्दु राज्यको मागसहित राप्रपाले आज बिहान ११ बजे काठमाडौंको बिजुलीबजारमा प्रदर्शन गर्दैछ। पार्टी अध्यक्ष राजेन्द्र लिङ्देनले यो प्रदर्शन शान्तिपूर्ण र प्रतीकात्मक हुने स्पष्ट पारेका छन्।
सामाजिक सञ्जालमार्फत उनले लेखेका छन्, “भन्नलाई प्रजातन्त्र, लोकतन्त्र, गणतन्त्र भन्ने तर जनतालाई ‘यति मात्र बोल, यो मात्र भन, यहाँ मात्र हिँड’ भनेर सीमा तोक्ने सरकारी निरंकुश प्रवृत्तिविरुद्धको हाम्रो प्रतिकात्मक प्रदर्शन हो।
”उनले प्रदर्शनमा सीमित नेताहरू मात्र सहभागी हुने जानकारी दिँदै सरकारलाई ‘नडराउन’ आग्रह गरेका छन्।यसअघि राप्रपाले निषेधित क्षेत्र भित्र प्रवेश गर्ने घोषणा गरेको थियो भने, गृह मन्त्रालयले यस्तो प्रयास भए कानुनअनुसार कारबाही हुने चेतावनी दिएको छ।