
काठमाडौं । शिक्षा ऐन जारी गर्न माग गर्दै शिक्षक तथा कर्मचारीहरुले आज पनि काठमाडौंमा प्रदर्शन जारी राखेका छन् । उनीहरु माइतीघरबाट बबरमहल-नयाँबानेश्वर सडक पुगेर प्रदर्शन गरिरहेका छन् ।
अघिल्ला दिनहरुमा दिउँसो १२ बजेदेखि ३ बजेसम्म प्रदर्शन गर्दै आएका शिक्षकहरुले आज राप्रपाको प्रदर्शनलाई लक्षित गरी बिहानै प्रदर्शन गरेका हुन् ।उनीहरुले १२ बजेसम्म प्रदर्शन गर्ने जनाएका छन् । राप्रपाले पनि बिहान ११ बजेदेखि बिजुली बजार क्षेत्रमै भेला हुने भनेकाले शिक्षकहरुले आज प्रदर्शन छोट्याएका छन् ।
शिक्षकहरूले गत चैत २० गतेबाट माइतीघर–बानेश्वर क्षेत्रमा प्रदर्शन गरिरहेका छन् ।सरकारसँग निरन्तर वार्ता भएपनि विद्यालय शिक्षा ऐन ल्याउने विषयमा सहमति नजुट्दा शिक्षकहरूले चैत २५ गतेदेखि शैक्षिक हड्ताल घोषणा गरेर सम्पूर्ण शैक्षिक गतिविधि ठप्प पारेका छन् ।शिक्षकहरूको आन्दोलनका कारण विद्यालयमा नयाँ भर्ना प्रभावित भएको छ । कक्षा १२ को परीक्षालाई समेत असर पर्ने सम्भावना छ ।