काठमाडौं । नेपाल बार एशोसिएसनको चैत २३ गते सम्पन्न निर्वाचनमा प्राडा विजय मिश्र अध्यक्ष पदमा निर्वाचित भएका छन्। उनले प्रतिस्पर्धी रमनकुमार श्रेष्ठलाई २,४३१ मतान्तरले पराजित गर्दै विजयी भएका हुन्।
मिश्रले कुल ५,०५२ मत प्राप्त गर्दा श्रेष्ठले २,६२१ मतमा सीमित भएका थिए। हालै शनिबार मिश्रसहित नयाँ कार्यसमितिका पदाधिकारीहरूले शपथ ग्रहण गरेका छन्।अध्यक्ष मिश्रका लागि यो समय मात्र व्यावसायिक रूपमा सफल नभई पारिवारिक रूपमा पनि सुखद सावित भएको छ। शपथ समारोहको दुई दिनपछि उनकी छोरी विधिशा मिश्रले नेपाल ल क्याम्पसको स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) निर्वाचनमा कोषाध्यक्ष पदमा विजय हासिल गरेकी छन्।
नेविसंघका तर्फबाट उम्मेदवारी दिएकी विधिशाले ८६४ मत प्राप्त गर्दै कोषाध्यक्षमा निर्वाचित भएकी हुन्। विजय मिश्र स्वयं पनि कांग्रेसनिकट डेमोक्राटिक लयर्स एसोसिएसनका सक्रिय सदस्य हुन् भने नेपाल ल क्याम्पसमा प्राध्यापन पनि गर्छन्—जहाँ उनकी छोरीले विद्यार्थी राजनीति मार्फत नयाँ जिम्मेवारी प्राप्त गरेकी हुन्।