• २०८३ असार ३१
  • 2026 July 15, Wednesday

विजयनाथ भट्टराईले गभर्नर छनोट सिफारिस समिति सदस्यबाट दिए राजीनामा

काठमाडौं । नेपाल राष्ट्र बैंकको गभर्नर छनोटका लागि गठित सिफारिस समितिका सदस्य तथा पूर्व गभर्नर विजयनाथ भट्टराईले पदबाट राजीनामा दिएका छन्।

मन्त्रिपरिषद्को चैत ११ गतेको निर्णयअनुसार उपप्रधान एवं अर्थमन्त्री विष्णु पौडेलको संयोजकत्वमा गठन गरिएको सो समितिमा पूर्व गभर्नरको हैसियतले भट्टराई र विज्ञ सदस्यका रूपमा विश्व पौडेल रहेका थिए।

राजीनामाको कारणबारे स्पष्ट पार्दै भट्टराईले समितिको भूमिका उपेक्षा गरिएकाले आफूले त्यस्तो समितिमा बसिरहनुको औचित्य नरहेको बताएका छन्। “एक महिनासम्म एकपटक पनि समिति बैठक नबस्नु समितिप्रतिको बेवास्ता हो,” भट्टराईले भने, “त्यसैले आजैदेखि लागू हुने गरी समितिबाट अलग हुने निर्णय गरेको हुँ।”

उनले आफ्नो राजीनामा सन्देश सिधै समिति संयोजक अर्थमन्त्री पौडेललाई व्हाट्सएपमार्फत पठाइसकेको र लिखित रूपमा अर्थ मन्त्रालयमा पठाउने तयारी भइरहेको जानकारी दिएका छन्।