
काठमाडौं । सडक आन्दोलनमा रहेका नेपाल शिक्षक महासंघले कक्षा १२ को परीक्षा प्रक्रियामा कुनै हालतमा सहभागी नहुने अडान दोहोर्याएको छ।
महासंघका अध्यक्ष लक्ष्मीकिशोर सुवेदी र महासचिव तुलाबहादुर थापाले संयुक्त रूपमा जारी गरेको विज्ञप्तिमा राष्ट्रिय परीक्षा बोर्ड तथा जिल्ला प्रशासन कार्यालयका पदाधिकारीहरूबाट विद्यालयका प्रधानाध्यापक र शिक्षकहरूलाई परीक्षामा संलग्न हुन दबाब र धम्की आएको आरोप लगाइएको छ ।
‘परीक्षाको प्रक्रियामा सामेल हुन दबाब आएकोप्रति हाम्रो गम्भीर ध्यानाकर्षण भएको छ’ विज्ञप्तिमा उल्लेख गरिएको छ ।
२१ दिनदेखि काठमाडौंमा शिक्षकहरूको सहभागितामा जारी शैक्षिक आन्दोलनलाई थप सशक्त बनाउँदै विद्यार्थी, शिक्षक तथा कर्मचारीमैत्री शिक्षा ऐन जारी गराउने अभियानमा हामी सबै प्रधानाध्यापक, शिक्षक र विद्यालय कर्मचारीलाई परीक्षा प्रक्रियाबाट अलग रहन जोडदार आग्रह पनि महासंघले गरेकाे छ ।