काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाल भ्रमणमा रहेका विश्वप्रसिद्ध ब्राजिलियन फुटबलर रोबर्टो कार्लोसलाई माउन्टेन फ्लाइट र जंगल सफारीको लागि निमन्त्रणा दिएका छन्।
बुधबार सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा भएको भेटमा प्रधानमन्त्री ओलीले कार्लोसलाई भविष्यमा नेपाल पुनः भ्रमण गर्न आग्रह गर्दै माउन्टेन फ्लाइट र चितवनको जंगल सफारीसमेत समेटिएको योजना प्रस्ताव गरेका हुन्। प्रधानमन्त्रीको सचिवालयका अनुसार, “प्रधानमन्त्रीज्यूले नेपालको प्राकृतिक सौन्दर्य अनुभव गर्न माउन्टेन फ्लाइट र जंगल सफारीको प्रस्तावसहित कार्लोसलाई पुनः नेपाल भ्रमणको निम्तो दिनुभयो।”
यसको जवाफमा कार्लोसले नेपालमा पाएको न्यानो आतिथ्यप्रति आभार व्यक्त गर्दै, “यदि समय मिल्यो भने म अवश्य फेरि नेपाल आउँछु,” भनेका छन्।भेटमा प्रधानमन्त्री ओलीले नेपाल र ब्राजिलबीच सुमधुर कूटनीतिक सम्बन्ध रहेको उल्लेख गर्दै, खेलकुदको माध्यमबाट दुई देशबीचको सम्बन्धलाई अझै बलियो बनाउन सकिने धारणा व्यक्त गरेका थिए।रोबर्टो कार्लोस नेपाल सुपर लिग (NSL) को तेस्रो संस्करणको खेल अवलोकन गर्न काठमाडौं आएका हुन्। उनले बुधबार दशरथ रंगशालामा हुने एनएसएल २०२५ को दोस्रो क्वालिफायर खेल धनगढी र पोखरा टिमबीच हेर्ने कार्यक्रम रहेको छ।