काठमाडौँ। प्रधानन्यायाधीश प्रकाशमानसिंह राउतले पूर्वराजा ज्ञानेन्द्र शाहसँग भेटघाट गरेको दाबी सहित समाचार प्रकाशित गर्ने ‘नेपाली पेन अनलाइन’ का सम्पादकलाई बयानमा उपस्थित गराउन सर्वोच्च अदालतले आदेश दिएको छ।
बुधबार सर्वोच्च अदालतका न्यायाधीशद्वय अब्दुल अजिज मुसलमान र टेकप्रसाद ढुङ्गानाको इजलासले उक्त समाचारका सन्दर्भमा बयान लिने आदेश जारी गरेको हो। समाचार अनलाइनका सम्पादक दीपेश केसी रहेका छन्।सोमबार ‘प्रधानन्यायाधीशले पूर्वराजालाई किन भेटे?’ शीर्षकमा प्रकाशित समाचारमा प्रधानन्यायाधीश राउतले पूर्वराजा ज्ञानेन्द्रसँग भेट गरेको दाबी गरिएको थियो।
समाचारमा पूर्वप्रधानन्यायाधीश कल्याण श्रेष्ठमार्फत यो भेटघाट भएको र राउतलाई खिलराज रेग्मीको शैलीमा सरकारको नेतृत्व गर्ने तयारीमा रहेको आरोप लगाइएको थियो।उक्त समाचारप्रति आपत्ति जनाउँदै सर्वोच्च अदालतमा कार्यरत नायव सुब्बा कमला रेग्मी र कम्प्युटर असिस्टेन्ट रमेश बजगाईंले मङ्गलबार नेपाली पेन अनलाइनविरुद्ध अवहेलना मुद्दा दायर गरेका थिए।मुद्दा दायर भएपछि सर्वोच्च प्रशासनले अनलाइन सम्पर्क गर्दै समाचारसँग सम्बन्धित प्रमाण पेस गर्न अनुरोध गरेको थियो। तर, हालसम्म मिडियाले कुनै प्रमाण अदालतमा पेश गरेको छैन। विवादित समाचार भने वेबसाइटबाट हटाइएको छ।