काठमाडौ ।प्रधानमन्त्री केपी शर्मा ओलीले सत्ता साझेदार नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाको बैंकक यात्रा सरकारको स्थायित्वसँग जोडेर हल्ला फैलाइएकामा असन्तुष्टि जनाएका छन्।
मंगलबार नेपाल कम्युनिष्ट पार्टी (एमाले)को ७६औं स्थापना दिवसको अवसरमा आयोजित कार्यक्रममा बोल्दै प्रधानमन्त्री ओलीले देउवाको निजी स्वास्थ्य परीक्षणको भ्रमणलाई सरकार ढल्ने अड्कलबाजीसँग जोड्नु निराधार भएको बताए।”नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा स्वास्थ्य परीक्षणका लागि बैंकक गएका हुन्,” ओलीले भने, “त्यसलाई सरकार ढल्छ भन्ने हल्लासँग जोड्न खोजियो, जुन अनावश्यक र भ्रामक हो।”
सभापति देउवा आइतबार परिवारसहित थाइल्याण्डको बैंकक प्रस्थान गरेका थिए। प्रधानमन्त्री ओलीले आफू र देउवाबीच सत्ता सहमति कायम रहेको स्पष्ट पार्दै भने, “नेपाली कांग्रेस र एमालेबीच भएको सहमतिअनुसार आगामी १५ महिनापछि म देउवालाई प्रधानमन्त्रीको जिम्मेवारी हस्तान्तरण गर्छु।”गत वर्ष असार १७ गते कांग्रेस र एमालेबीच भएको ७ बुँदे सहमतिअनुसार प्रधानमन्त्री पद आलोपालो गरिने र २०८३ सालको असारमा ओलीले देउवालाई सत्ताको बागडोर सुम्पिने उल्लेख गरिएको छ।