• २०८३ असार ३१
  • 2026 July 15, Wednesday

आधारभूत माग नपुगे सरकारबाट बाहिरिन्छौँ : गगन थापा

नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकारले जनताको अपेक्षा अनुसारका आधारभूत कुरा पूरा गर्न नसके सरकारबाट बाहिरिने चेतावनी दिएका छन्।

लोकतन्त्र दिवसको अवसरमा बिहीबार काठमाडौंमा आयोजित ‘आजको लोकतन्त्रः अवसर र चुनौती’ विषयक कार्यक्रममा बोल्दै थापाले पार्टीका मागहरू र जनताको आवाजलाई बेवास्ता गरिएमा सरकारमा बस्नुको औचित्य नहुने बताए।“हाम्रा केही आधारभूत कुरा छन्, ती पूरा नभए हामी सरकारमा बस्दैनौँ,” थापाले भने, “जनताको आवाज उठाउँदा पनि सुनवाइ नहुने, बेवास्ता गरिने हो भने जुनसुकै सरकारबाट पनि बाहिरिन्छौँ।”

थापाले मुलुकमा बढ्दो असन्तुष्टि र बेचैनीको मूल कारण पुराना नेताहरू भएको दाबी गर्दै भने, “नागरिकले जसप्रति असन्तुष्टि व्यक्त गरिरहेका छन्, उसैलाई फेरि निर्णयको सिटमा देखिरहेका छन्। हामी भन्छौँ अब यो गाडी तिमीले चलाएर हुँदैन। अब परिवर्तन चाहिन्छ।”उनले जनअपेक्षा अनुसारको नेतृत्व निर्माण गर्न आफूहरू क्रियाशील रहेकोसमेत बताए।