काठमाडौँ । ट्राफिक प्रहरीले एक युवालाई कुटपिट गरेको अर्को भिडियो सार्वजनिक भएको छ। उक्त भिडियोमा ट्राफिक प्रहरीले एक युवकलाई किन भागेको भन्ने आरोपमा समातेर कुटिरहेको दृश्य देखिन्छ, जुन सामाजिक सञ्जालमा भाइरल भएको छ।
उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रमुख एसएसपी विनोद घिमिरेले भिडियोको बारेमा आफूहरूलाई जानकारी भएको र त्यसको अनुसन्धान भइरहेको बताएका छन्। उनले भने, “हामीले भिडियो हेर्यौं, त्यसको सम्बन्धमा कहाँको हो भन्ने विषयमा बुझ्न काम भइरहेको छ।”
यसअघि पनि अर्का एक व्यक्तिलाई कुटपिट गरेको भिडियो सार्वजनिक भएपछि प्रहरीले ४ जना ट्राफिक प्रहरीविरुद्ध छानबिन गरिरहेको थियो। त्यो भिडियोमा प्रहरीकर्मीले सर्वसाधारणलाई लडाएर कुटपिट गरेको देखिएको थियो। उक्त भिडियो केही महिना पुरानो भएको थाहा पाएपछि प्रहरीले थप अनुसन्धान जारी राखेको छ।