काठमाडौँ । नेपाली कांग्रेसका प्रमुख सचेतक श्याम घिमिरेले सरकार परिवर्तनको हल्ला फैलाएर देशमा अस्थिरता ल्याउने प्रयास भइरहेको बताएका छन्।
प्रतिनिधिसभाको बैठकमा बोल्दै उनले यस्तो हल्लाको आडमा “धमिलो पानीमा माछा मार्ने” खेल भइरहेकाे टिप्पणी गरे।“सरकार ढल्छ भन्ने हल्ला चलाएर अस्थिरता निम्त्याउने प्रयास भइरहेको छ,” घिमिरेले भने, “त्यसले राजनीतिक वातावरणलाई अनावश्यक रूपमा तरंगित बनाउने काम मात्र गर्छ।”
उनले विगत २० वर्षमा देशमा केही भएन भन्ने आलोचनालाई पनि अस्वीकार गरे। “२० वर्षमा केवल व्यवस्था परिवर्तन मात्रै भएको भन्ने कुरा सत्य होइन,” उनले भने, “तथ्यांकले पनि भन्छ, र हाम्रो आफ्नै आँखाले पनि २० वर्ष अघिको र अहिलेको अवस्था स्पष्ट देखिएको छ।”
उनले मुलुकको विकासक्रमलाई विश्वका ठूला राष्ट्रहरूसँग तुलना गर्न उपयुक्त नहुने बताए। “हो, अमेरिकासँग तुलना गर्दा हाम्रो विकासको गति ढिलो देखिन सक्छ,” घिमिरेले भने, “तर हामी साह्रै कमजोर अवस्थामा छौं भन्ने अवस्था छैन।”