७ दिनको अन्तिम चेतावनी दिँदै मन्त्री गुरुङको प्रश्न: नेपाली प्रयोगकर्ताबाट आम्दानी गर्ने, तर कर तिर्न नमान्ने ?

काठमाडौं – नेपाल सरकारले सामाजिक सञ्जाल प्लेटफर्महरूको मातृ कम्पनी मेटालाई सात दिनको अन्तिम चेतावनी दिएको छ। सञ्चार तथा सूचना प्रविधि मन्त्री पृथ्वीसुब्बा गुरुङले शुक्रबार काठमाडौंमा आयोजित एक कार्यक्रममा मेटालाई नेपालमा दर्ता नभए प्रतिबन्ध लगाइने चेतावनी दिएका हुन्।

उनले मेटाको स्वामित्वमा रहेका फेसबुक, इन्स्टाग्राम, ह्वाट्सएप, र म्यासेन्जरजस्ता प्लेटफर्महरू नेपालमा अत्यधिक रूपमा प्रयोग हुँदै आएकाले तिनको नियमन आवश्यक भएको बताए। मन्त्री गुरुङका अनुसार सरकार तीन पटकसम्म मेटालाई दर्ता हुन र कर तिर्न आग्रह गरिसकेको छ, तर कम्पनीले अटेर गर्दै आएको छ।गुरुङले भने,”हामीले तीनपटक भन्यौं– दर्ता हुन आऊ, कर तिर भनेर। तर उनीहरूले बेवास्ता गरे। फेसबुकले अवैध रूपमा हाम्रो पैसा लगे तर नेपालको कानूनको पालना गरेन।”

उनका अनुसार, हरेक घण्टा हजारौं रुपैयाँ सामाजिक सञ्जालमार्फत मेटाको कार्यालयमा गइरहेको छ, जसबाट मुलुकको आर्थिक हित प्रभावित भएको छ। मन्त्री गुरुङले थपे, “हाम्रो स्वाधीनता पैसामा आधारित छैन। नेपालमा सेवा सञ्चालन गर्न चाहन्छन् भने दर्ता भएर कर तिर्नुपर्छ, नत्र प्रतिबन्ध हुनेछ।”सरकारको पछिल्लो सूचना अनुसार टिकटकलगायत केही सामाजिक सञ्जालहरू नेपालमा दर्ता भइसकेका छन्, तर फेसबुक र एक्स (पूर्व ट्वीटर) भने अझै पनि दर्ता भएका छैनन्। सरकारले यस्ता कम्पनीहरूले कानूनी दायित्व पूरा नगरेको भन्दै आलोचना गरेको छ।

© 2025 All right reserved Site By : Himal Creation || सूचना विभाग दर्ता नं : ४१२१–२०८०/२०८१