काठमाडौँ ।नेपाली कांग्रेसका सांसद रामहरि खतिवडाले आन्दोलनरत शिक्षकहरूलाई दिनहुँ बानेश्वरमा प्रदर्शन गर्दै गीत गाउने रूपमा ‘व्यवस्थापन’ नगरी विद्यालय फर्काउने वातावरण बनाउन सरकारलाई आग्रह गरेका छन्।
प्रतिनिधि सभाको मंगलबारको बैठकमा बोल्दै सांसद खतिवडाले शिक्षकहरू कुनै एक दलका नभई समग्र राष्ट्रका भएकाले उनीहरूको मागलाई गम्भीरतापूर्वक लिन सरकारको ध्यानाकर्षण गराए।“शिक्षकहरू कांग्रेस, एमाले वा माओवादीका मात्र होइनन्, सम्पूर्ण देशका हुन्,” खतिवडाले भने, “उनीहरूलाई पानीको फोहोरा खाने र गीत गाउने शैलीमा सडकमा राख्ने होइन, तुरुन्त विद्यालय फर्काउने व्यवस्था गर्नुपर्छ।”
खतिवडाले सरकारले शिक्षकहरूको आन्दोलनका विषयमा गम्भीरता देखाउनु पर्ने र नवनियुक्त शिक्षामन्त्रीले संसद्मा आएर स्पष्ट जवाफ दिनुपर्ने माग पनि राखे। साथै, उनले हालसम्म राष्ट्र बैंकका गभर्नर नियुक्त नहुनु अर्थतन्त्रका लागि गम्भीर चुनौती भएको टिप्पणी गरे। खतिवडाले गभर्नर नियुक्तिका लागि सिफारिस समिति गठन गरी प्रक्रिया तत्काल अगाडि बढाउन सरकारलाई आग्रह गरे।
