• २०८३ असार ८
  • 2026 June 22, Monday

गणतन्त्र पक्षको प्रदर्शनले राजतन्त्र पक्षको अभियान कमजोर पारेको दाबी

काठमाडौ । नेकपा माओवादी केन्द्रका महासचिव देव गुरुङले माओवादीको वृहत सभापछि राजावादी आन्दोलन ओझेलमा परेको दाबी गरेका छन्।

शुक्रबार पोखरामा प्रेस सेन्टर कास्कीले आयोजना गरेको पत्रकार भेटघाट कार्यक्रममा बोल्दै उनले चैत १५ गते गणतन्त्रको पक्षमा माओवादीले आयोजना गरेको जनसभाले राजावादीको गतिविधिमा असर परेको बताए।‘हामी प्रतिपक्षमा रहे पनि प्रतिगमन र यथास्थितिविरुद्ध खबरदारी गर्नुपर्ने आवश्यकता थियो,’ उनले भने, ‘झण्डै एक लाखको सहभागितासहितको भव्य सभा गरेपछि दरबारवादीहरूको राजतन्त्र पुनःस्थापनाको अभियान ओझेलमा परेको छ।’

महासचिव गुरुङले हालको अवस्थामा राजावादी आन्दोलन अगाडि बढ्न नसक्ने अवस्था रहेको बताए। तर, सरकारका असफल कार्यशैलीले भविष्यमा गणतन्त्रविरोधी आवाज उठ्न सक्ने खतरा भने रहेको उनको भनाइ छ।पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा देखिएको अनियमितताबारे उनले न्यायिक छानबिन आवश्यक रहेको धारणा राखे।

‘नीतिगत छानबिनले केही संकेत गरेका छन्, अब न्यायिक छानबिन हुनुपर्छ,’ गुरुङले भने, ‘कसले भ्रष्टाचार गर्‍यो भन्ने पहिचान गरेर कानुनी कारबाही गर्नुपर्छ।’उनले अहिलेको सरकार असफल भइसकेको भन्दै प्रधानमन्त्रीले राजीनामा दिनुपर्ने आवश्यकता रहेको स्पष्ट पारे। माओवादी केन्द्र प्रतिपक्षमा रहेर रचनात्मक ढंगले सुझाव दिइरहेको पनि उनले बताए।