पूर्वप्रधानमन्त्री तथा नेकपा (एकीकृत समाजवादी) का वरिष्ठ नेता झलनाथ खनालले ‘निर्वाचन’ पार्टीको अन्तिम लक्ष्य नभएको स्पष्ट पारेका छन् । शनिबार काठमाडौंमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै उनले भनेका छन्, “चुनाव कार्यनीतिक लक्ष्य हो, मुख्य लक्ष्य होइन।”
खनालले २०७२ सालको संविधानको धारा ३ मा उल्लेख भएको पुँजीवादको आलोचना गर्दै भनेका छन्, “यो संविधान पुँजीवादी छ, र हामी यसलाई आँखा चिम्लिएर समर्थन गर्न सक्दैनौं। संविधानलाई आलोचनात्मक दृष्टिकोणबाट हेर्नुपर्छ।”
उनले प्रतिनिधिहरू संसद्मा पुर्याएर नौटङ्की सरकारको भण्डाफोर गर्न जरुरी रहेको बताएका छन् । “यदि हामीले बहुमत ल्यायौं भने, जनताको पक्षमा नीति तथा कार्यक्रम ल्याएर लागू गर्न सक्छौं,” खनालले भनेका छन्।
उनका अनुसार, हालका नीति र कार्यक्रम केबल सुन्दा मिठो लाग्ने तर व्यवहारीक नभएको बताएका छन्। त्यसैले बोले जति काम पनि गर्न सक्ने राजनीतिक शक्ति आवश्यक रहेको उनको तर्क थियो।
उनले वैज्ञानिक समाजवादलाई नै नेपालको समस्याको दीर्घकालीन समाधानको बाटो भएको बताएका छन्।