प्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आफू नेतृत्वको सरकारले लिएका सबै नीतिहरू सही रहेको दाबी गरेका छन्। शनिबार बालुवाटारमा आयोजित संसदीय दलको बैठकमा सम्बोधन गर्दै उनले सांसदहरूलाई ढुक्क भएर अगाडि बढ्न आग्रह गरेका छन्।
“हाम्रा नीतिहरू सहि छन्, ढुक्क हुनुस्,” ओलीले भने, “विपक्षीले जे भए पनि विरोध गर्नुपर्छ भन्ने मानसिकता बनाएका छन्।
एउटोपनि बुँदाको समर्थन गर्ने छैनन्।”
ओलीले विपक्षीको आलोचना सत्यताबाट होइन, बाध्यता र पूर्वाग्रही सोचबाट प्रेरित भएको बताए। “सही कुराको विरोध गर्नु उहाँहरूका लागि भविष्यमा नराम्ररी रेकर्ड बन्नेछ,” उनले चेतावनी दिएका छन्।
साथै, प्रधानमन्त्री ओलीले सरकारद्वारा हालै ल्याइएको नीति तथा कार्यक्रमको विषयमा सांसदहरूले गहिरो अध्ययन गरी सशक्त ढंगले प्रस्तुत हुन निर्देशन दिए। “बोल्दा स्पष्ट र बलियो धारणा राख्नुस्, चिप्लिने खालको कुरा नगरिनुस्,” ओलीले भने।
उनको भनाइले पार्टीमा नीति प्रति दृढता र आत्मविश्वास झल्किएको छ।