काठमाडौं। देशभर पश्चिमी वायु र स्थानीय वायुको प्रभाव रहेको छ, जसका कारण काठमाडौंसहित देशका केही पहाडी क्षेत्रमा हल्का वर्षा भइरहेको छ।
मौसम पूर्वानुमान महाशाखाको अनुसार, बङ्गालको खाडीबाट भित्रिरहेको जलवाष्पयुक्त हावाको पनि आंशिक प्रभाव देखिएको छ। आज दिउँसो देशभर आंशिकदेखि सामान्यतया बदली रहने र कोशी र लुम्बिनी प्रदेशसहित अन्य पहाडी क्षेत्रका केही स्थानहरूमा मेघगर्जन, चट्याङ र हुरीबताससहित हल्का देखि मध्यम वर्षाको सम्भावना छ।
देशका हिमाली र पहाडी क्षेत्रका केही स्थानहरूमा हल्का वर्षा र हिमपातको सम्भावना रहेको महाशाखाले जनाएको छ।
त्यस्तै, आज राति पहाडी क्षेत्रहरूमा आंशिकदेखि सामान्यतया बदली रहने र बाँकी स्थानहरूमा आंशिक बदली रहने अपेक्षा गरिएको छ।देशको पहाडी क्षेत्रका केही स्थान र अन्य भू-भागका केही स्थानहरूमा मेघगर्जन र चट्याङसहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ। हिमाली क्षेत्रका एक-दुई स्थानहरूमा हल्का वर्षा र हिमपातको सम्भावना पनि देखिएको छ।