भारत–पाकिस्तानबीचको तनावले पछिल्लो समय व्यक्तिगत जीवनमा पनि असर गर्न थालेको समाचारहरु बाहिरीरहेका छन् ।भारत र पाकिस्तान युद्दको तनाव र त्यसले पारेको प्रभाव एक दम्पत्तीमा देखिएको छ ।
पाकिस्तानी महिलासँग विवाह गरेपछि भारतको केन्द्रीय रिजर्भ पुलिस बल (सीआरपीएफ) ले जवान मुनिर अहमदलाई जागिरबाट बर्खास्त गरेको छ।
सीआरपीएफका जवान मुनिर अहमदलाई पाकिस्तानकी मीनल खानसँग विवाह गरेको आरोपमा जागिरबाट निष्कासित गरेको खबरले यतिबेला सर्वत्र चर्चा बटुलिरहेको छ ।
सीआरपीएफको ४१औं बटालियनका मुनिरले पाकिस्तानको सियालकोट निवासी मीनलसँग मे २०२४ मा अनलाइन विवाह गरेका थिए। मीनल छोटो अवधीको भिसामा भारत आएकी थिइन् र दीर्घकालीन भिसाको लागि आवेदन दिएकी थिइन्। तर अप्रिल २२ मा पहलगाम आतंकी हमलापछि भारतले पाकिस्तानी भिसा निलम्बन गर्दै उनलाई देश छाड्न भनेको हो।
उनले मिनलको भिसा सकिएपछि पनि उनलाई अवैध रूपमा भारतमा राखेको दाबी छ। सीआरपीएफले मुनिर अहमदलाई सेवा आचरण र राष्ट्रिय सुरक्षाको लागि खतरा मानिएको जनायो। उनले भिसा नियम उल्लंघन गरेर मिनललाई भारतमा आश्रय दिएको आरोप सीआरपीएफको छ।
मुनिरले पत्नीलाई निर्वासनबाट रोक्न अदालतमा अपिल गरे पनि सीआरपीएफले उनलाई राष्ट्रिय सुरक्षाको खतरा भन्दै जागिरबाट हटाएको हो ।
मीनलले प्रधानमन्त्री मोदीलाई न्यायको अपिल गर्दै भनेकी छन्, “आतंकको नाममा निर्दोषलाई सजाय दिनु अमानवीय हो।”