दलहरू सुध्रिएनन् भने निरङ्कुशता फर्किन सक्छ : पन्त

काठमाडौं। नेपाली समाज भारतका दक्षिण एसिया प्रमुख लक्ष्मण पन्तले सत्तामा लामो समयदेखि रहेका प्रमुख राजनीतिक दलहरू  नेपाली कांग्रेस, एमाले र माओवादीले जनआकाङ्क्षा सम्बोधन गर्न नसकेको अवस्थामा पुनरुत्थानवादी वा निरङ्कुश शक्तिहरूले उनीहरूलाई विस्थापित गर्ने खतरा बढेको चेतावनी दिएका छन्।

आइतबार भारतको राजधानी नयाँ दिल्लीमा आयोजित ‘नेपालमा प्रतिगमनको खतरा र गणतन्त्रको रक्षाको प्रश्न’ विषयक विचार गोष्ठीमा बोल्दै पन्तले, नेपालमा राजतन्त्रको अन्त्यपछि गणतन्त्र स्थापना भए पनि प्रमुख दलहरू लोकतान्त्रिक बन्न नसकेको टिप्पणी गरे।उनले दलभित्र फरक विचारको स्थान नरहेको र नेतृत्वमा लोकतन्त्रको आवरणमा नयाँ प्रकारको सामन्तवाद मौलाउँदै गएको बताए।

“कांग्रेस, एमाले र माओवादीले देशवासीका आकाङ्क्षा सम्बोधन गर्न नसके पुनः निरङ्कुश वा प्रतिगामी शक्तिहरू उदाउन सक्छन्,” पन्तले भने, “जनताले राजनैतिक स्वतन्त्रता पाए पनि आर्थिक अवस्था जर्जर, भ्रष्टाचार व्याप्त, र राष्ट्रियता कमजोर हुँदै गएको छ। दलहरूका लागि अब सच्चिने कि सकिने भन्ने दुईवटा मात्र विकल्प छन्।”उनले गणतन्त्रको विकल्प उन्नत गणतन्त्र वा समाजवादी गणतन्त्र मात्रै हुन सक्ने स्पष्ट पारे।

गोष्ठीको आयोजना नेकपा (मसाल) निकट मूल प्रवाह अखिल भारत नेपाली एकता समाज केन्द्रीय समितिले गरेको हो। कार्यक्रममा पार्टीका नेता भैरवराज रेग्मीले मुलुकमा प्रतिगमनको खतरा कायमै रहेको र त्यसको प्रतिरोधका लागि सबै गणतन्त्रवादी शक्तिहरू एकजुट हुनुपर्ने धारणा राखे।गोष्ठीमा मूल प्रवाहका अध्यक्ष ठाकुर खनालले कार्यपत्र प्रस्तुत गरेका थिए भने अन्य वक्तामध्ये सोसलिस्ट युनिटी सेन्टर अफ इन्डिया, सीपीआई एमएलका प्रतिनिधिहरूको पनि उपस्थिति रहेको थियो। भारतीय पक्षका वक्ताहरूले पनि नेपाली जनताले गणतन्त्रको रक्षाका लागि फेरि एकपटक संगठित संघर्ष गर्नुपर्ने बताएका थिए।

© 2025 All right reserved Site By : Himal Creation || सूचना विभाग दर्ता नं : ४१२१–२०८०/२०८१