• २०८३ असार ३१
  • 2026 July 15, Wednesday

मापसे गरी तीव्र गतिमा सवारी चलाउँदा कार बिजुलीको पोलमा ठोक्किँदा तीनजना घाइते

काठमाडौं । ललितपुरको सातदोबाटो–हात्तीवन ओरालोमा एक कार बिजुलीको पोलमा ठोक्किँदा तीनजना घाइते भएका छन्। तीमध्ये एक जनाको अवस्था गम्भीर रहेको र दुई जनाको अवस्था सामान्य रहेको छ।

ललितपुर प्रहरीका अनुसार, घटना राति सवा ११:१० बजे भएको हो, जब बा १५ च ७६५२ नम्बरको कार बिजुलीको पोलमा ठोक्किएको थियो। गम्भीर घाइते गोदावरी नगरपालिका–३ का विशाल विकको पाटन अस्पतालको आईसीयूमा उपचार भइरहेको प्रहरीले जनाएको छ। यस्तै, म्याग्दी घर भई गोदावरी नगरपालिका–३ मा बस्ने ४० वर्षीय अमरध्वज पौडेल र २९ वर्षीय मोसेर लामिछानेको पनि पाटन अस्पतालमा उपचार भइरहेको छ।

कार चालक रूपक सापकोटाको अवस्था भने सामान्य रहेको छ। दुर्घटनाले बिजुलीको पोल भाँचिएर सडकको बीच भागमा पुगेपछि सवारी आवागमन बन्द गरिएको छ। पोलमा ११ हजार भोल्टको हाइटेन्सन तार टाँगिएकोले सडकमा सवारी चलाउन रोक लगाइएको हो।प्रहरीका अनुसार, चालक सापकोटाले मापसे गरी तीव्र गतिमा सवारी चलाउँदा दुर्घटना भएको हो। दुर्घटनापछि सापकोटाले प्रहरीलाई खबर गरेको प्रहरी नायव निरीक्षक यमबहादुर भुजेलले जानकारी दिए। ललितपुर महानगरपालिकाका नगर प्रहरी र नेपाल विद्युत् प्राधिकरणको टोलीले पोल हटाउने काम गरिरहेको छ।