काठमाडौं। प्रमुख विपक्षी दल नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सरकारको नीति तथा कार्यक्रम परम्परागत सोचबाट माथि उठ्न नसकेको टिप्पणी गरेका छन्।
शुक्रबार राष्ट्रपति रामचन्द्र पौडेलले प्रस्तुत गरेको नीति तथा कार्यक्रममाथि प्रतिनिधिसभामा भएको छलफलमा भाग लिँदै उनले सत्तापक्षका सांसदहरूमै त्यसप्रति उत्साह र आशा नदेखिएको उल्लेख गरे।प्रचण्डले भने, ‘नीति तथा कार्यक्रम वाचन गरिरहँदा सत्तारुढ सांसदको बेन्चमा छाएको मौनताले धेरै कुरा प्रतिविम्बित गरेको छ । किन त्यो स्तरको मौनता छायो ? प्रस्तुति र प्रशंसामा टेबल नबझाएको भन्दै प्रधानमन्त्रीको दु:खेसो पनि सुनियो । सत्तासीन सांसदमा नीति तथा कार्यक्रम आशा उत्साह देखिँदैन भने किन र कसका लागि ल्याइएको हो ?
’सरकारको नीति तथा कार्यक्रममा राष्ट्रिय महत्वका विषयहरूलाई बेवास्ता गरिएको आरोप लगाउँदै जलस्रोत, वनजंगल जस्ता अर्थतन्त्रको मेरुदण्डका क्षेत्र र सामाजिक न्यायका पक्ष समेटिन नसकेको टिप्पणी गरेका छन्। ‘देशलाई कुन दिशामा लैजान खोजिएको हो भन्ने विषयमा न समीक्षा गरिएको छ, न छलफल’, भन्दै उनले नीति कार्यक्रम अमूर्त, अव्यवहारिक र औपचारिकतामा मात्र सीमित रहेको बताए। दुईतिहाइको अहंकारमा सरकार कुशासनतर्फ अघि बढिरहेको आरोप लगाउँदै उनले सरकार स्वार्थ समूहको नियन्त्रणमा चलेको, आलोचना गर्नेहरूको मुख थुन्ने र प्रतिशोधको भावना देखिएको आरोप दोहोर्याए।