सुदूरपश्चिमका मुख्यमन्त्री शाह र उत्तर प्रदेशका मुख्यमन्त्री आदित्यनाथबीच भेटवार्ता

काठमाडौं। सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहले भारतको उत्तरप्रदेशका मुख्यमन्त्री योगी आदित्यनाथसँग भेटवार्ता गरेका छन्।भारत भ्रमणमा रहेका मुख्यमन्त्री शाह र आदित्यनाथबीच लखनउस्थित उत्तरप्रदेशका मुख्यमन्त्रीको सरकारी निवासमा भेटवार्ता भएको हो।

मुख्यमन्त्री आदित्यनाथले सामाजिक सञ्जालमार्फत भेटवार्ताबारे जानकारी गराएका छन् । ‘आज लखनउस्थित सरकारीनिवासमा नेपालको सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाह र प्रतिनिधिमण्डलसँग शिष्टाचार भेट भयो,’ उनले लेखेका छन् ।गत मंगलबार काठमाडौँबाट प्रस्थान गरेको भ्रमण टोलीमा प्रदेशका मन्त्री, सांसद, उच्च प्रशासनिक अधिकारी तथा मुख्यमन्त्रीको सचिवालयका सदस्यहरू सहभागी थिए। टोली सोमबार स्थलमार्ग हुँदै लखनउबाट कैलाली फर्किनेछ।

मुख्यमन्त्री शाह नेपालमै पहिलोपटक भारत सरकारको औपचारिक निमन्त्रणामा प्रदेश सरकारको प्रतिनिधिमण्डल लिएर भारत भ्रमणमा गएका हुन्। भ्रमणको क्रममा उनले दिल्लीमा संघीय मन्त्रीहरूसँग भेटघाट गर्नुका साथै विवेकानन्द अन्तर्राष्ट्रिय फाउण्डेसनको कार्यक्रममा सहभागी भएका थिए।साताव्यापी भ्रमणका क्रममा प्रतिनिधिमण्डलले भारतीय कृषि अनुसन्धान संस्थाको अवलोकन भ्रमण गरेको छ। साथै, अयोध्याको धार्मिक पर्यटकीय स्थल र देहरादुनका कृषि तथा पर्यटकीय क्षेत्रहरूको अवलोकनसमेत गरेको भ्रमण टोलीका एक सदस्यले जानकारी दिए।

भ्रमण टोलीमा सुदूरपश्चिम प्रदेशका भूमि, व्यवस्था, कृषि तथा सहकारीमन्त्री वीरबहादुर थापा, नागरिक उन्मुक्ति पार्टीका संसदीय दलका नेता घनश्याम चौधरी, नेकपा एकीकृत समाजवादीका प्रमुख सचेतक नरेशकुमार शाही, माओवादी केन्द्रका प्रदेश सभा सदस्य झपटबहादुर साउद, नीति तथा योजना आयोगका सदस्य शेरबहादुर भण्डारी, प्रदेशका मुख्यसचिव डा. कमलप्रसाद पोखरेल, भौतिक पूर्वाधार मन्त्रालयका सचिव सुरतकुमार बम, मुख्यमन्त्रीका राजनीतिक सल्लाहकार डा. जितु उपाध्याय र स्वकीय सचिव रामबहादुर विष्ट सहभागी छन्।

© 2025 All right reserved Site By : Himal Creation || सूचना विभाग दर्ता नं : ४१२१–२०८०/२०८१