• २०८३ असार ३१
  • 2026 July 15, Wednesday

क्रिकेट रंगशाला बनाउन पहल लिएको भन्दै ठाकुर गैरेले गरे प्रधानमन्त्रीको तारिफ

नेकपा एमालेका सांसद ठाकुर गैरेले टियु क्रिकेट रंगशालाको निर्माण कार्यमा प्रधानमन्त्री केपी शर्मा ओलीले देखाएको सक्रियताको प्रशंसा गरेका छन्।

मंगलबारको प्रतिनिधिसभा बैठकमा बोल्दै सांसद गैरेले रंगशाला निर्माणमा प्रधानमन्त्रीले चालेको कदम सकारात्मक रहेको बताएका हुन्। ‘हिजो संसद सकिएपछि म घर जाँदै थिएँ, समाचारमा प्रधानमन्त्रीज्यूले क्रिकेट रंगशालाका लागि लिएको पहलकदमीबारे थाहा पाएँ,’ उनले भने।

गैरेले समयमै आयोजना सम्पन्न गर्ने र त्यसमा सुशासन कायम गर्नु विशेष महत्वको विषय भएको उल्लेख गरे। प्रधानमन्त्री ओलीले पदभार ग्रहण गर्दा ३०० दिनभित्र रंगशालाको काम सक्ने लक्ष्य लिएका थिए।

‘उक्त समयावधि सकिनु केही दिन बाँकी रहँदा आयोजना किन पूरा भएन भन्ने विषयमा समीक्षा भयो र अब आगामी दुई महिनाभित्र निर्माण कार्य सक्ने निर्णय गरिएको छ,’ सांसद गैरेले स्पष्ट पारे।

उनले यदि दुई महिनाभित्र रंगशालाको काम सम्पन्न भयो भने त्यो देशका लागि राम्रो उपलब्धि हुने बताएका छन्।