काठमाडौं । नेकपा माओवादी केन्द्रका सांसद जनार्दन शर्माले संसदको शून्य समय केवल बोलेर उठ्ने औपचारिकता मात्र हो भने त्यसलाई बन्द गर्नुपर्ने धारणा राखेका छन्।
मंगलबार प्रतिनिधि सभाको बैठकमा बोल्दै उनले सरकार संसदमा उठाइएका गम्भीर प्रश्नप्रति बेवास्ता गरिरहेको आरोप लगाए। शर्माले स्वास्थ्य बीमाको भुक्तानी, विश्वविद्यालयका रिक्त उपकुलपति पद, गभर्नर नियुक्ति, र सार्वजनिक पूर्वाधारका अपूरा आयोजनाजस्ता विषयमा पटक–पटक प्रश्न उठाइए पनि सरकार जवाफ दिन नै तयार नभएको उल्लेख गरे।
उनले भने, “हामी संसदमा बारम्बार जनता, सुशासन र राष्ट्रसँग सम्बन्धित विषय उठाउँदै आएका छौं – नेता रमेश चौधरीलाई नक्कली पत्र बनाएर किन थुनियो, गभर्नर किन नियुक्त गर्न सकिएन, विश्वविद्यालयका उपकुलपति पद किन खाली छन्, स्वास्थ्य बीमा भुक्तानी किन रोकिएको छ, मध्यपहाडी करिडोर, भेरी नदी, हुलाकी मार्गका पुलहरूको निर्माण कहिले सम्पन्न हुन्छ भन्ने प्रश्नहरूमाथि सरकार किन मौन छ?
यदि शून्य समय केवल सुनाउने औपचारिकता मात्र हो भने त्यसको औचित्य छैन। होइन भने सरकारले यी सवालमा गम्भीर भएर जवाफ दिनुपर्छ।”शर्माले सभामुखमार्फत सरकारलाई आवश्यक निर्देशन दिन मागसमेत गरेका छन्।