
काठमाडौं। शहीद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालय सम्बन्धी विधेयक प्रतिनिधि सभामा अड्किएको छ। संसद्को कार्यसूचीमा राखिए पनि अन्तिम समयमा उक्त विधेयक अघि बढ्न सकेको छैन।
वैशाख १५ गते प्रतिनिधि सभाको कार्यसूचीमा विधेयक पारित गर्ने प्रस्ताव थियो। त्यसदिन शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री रघुजी पन्तले विधेयकमाथि छलफलका लागि प्रस्ताव प्रस्तुत गर्ने तय भएको थियो। सांसदहरूले धारणा राखेपछि शिक्षामन्त्रीको जवाफ आउने र विधेयक पारित गरिने कार्यसूची थियो। तर अन्तिम समयमा सभामुख देवराज घिमिरेले विधेयकलाई कार्यसूचीबाट हटाए।
२१ असोज २०८० मा राष्ट्रिय सभामा दर्ता भएको विधेयक २९ माघ २०८० मा पारित भई प्रतिनिधि सभामा आएको हो। तर प्रतिनिधि सभामा आएर केही समय अघि बढेको विधेयक हाल अड्किएको छ। अब प्रतिनिधि सभाबाट पारित भई पुनः राष्ट्रिय सभामा गएपछि मात्र राष्ट्रपतिबाट प्रमाणीकरण भएर कानुनको रूप लिन सक्नेछ।यस विषयमा संसद्भित्रै असन्तुष्टि जनाइएको छ। बुधबार प्रतिनिधि सभामा बोल्दै नेकपा एमालेका सांसद तारा लामा तामाङले विधेयक रोकिएप्रति आपत्ति जनाउँदै भने, “सुदूरपश्चिमवासीहरूको भावना हेरेर यो विधेयक तत्काल प्रस्तुत गरियोस् भन्ने माग गर्दछु।”