काठमाडौं। राष्ट्रिय प्रजातन्त्र पार्टीकी सांसद रोशन कार्कीले नेपाल धितोपत्र बोर्डका अध्यक्ष सन्तोषनारायण श्रेष्ठविरुद्ध कारबाहीको माग गरेकी छन्।
बुधबार प्रतिनिधि सभामा बोल्दै उनले बोर्ड अध्यक्षमाथि आईपीओ निष्कासन प्रक्रियामा ५ देखि ७ प्रतिशत कमिसन मागेको आरोप सार्वजनिक भएको भन्दै कारबाहीको माग राखेकी हुन्।
सांसद कार्कीले भनिन्, “पुँजी बजारलाई देशको अर्थतन्त्रको ऐना भनिन्छ, तर अहिले यस ऐनामा कमिसनको कुरुप अनुहार देखिएको छ।”उनका अनुसार, धितोपत्र बोर्डले आफ्नो भूमिकामा चित्तबुझ्दो काम गर्न सकेको छैन, जसका कारण हजारौं सर्वसाधारणको लगानी जोखिममा परेको छ।
“पुँजी बजारमा सर्वसाधारणको पैसा फसेको छ, उनीहरूमाथि अन्याय भएको छ,” उनले भनिन्।सांसद कार्कीले संसद्को सुशासन समितिले तत्काल अनुसन्धान अघि बढाउनुपर्ने र बोर्ड अध्यक्षमाथि कारबाही हुनुपर्ने माग समेत गरिन्।