पछिल्ला विद्यार्थी आन्दोलनहरु विश्वासिलो र भरपर्दो भएनन्ः प्रदिप पौडेल

स्वास्थ्य तथा जनसंख्या मन्त्री प्रदीप पौडेलले विद्यार्थी संघ र संगठनहरूलाई सामाजिक जागरण र स्वास्थ्य सम्बन्धी विषयहरूलाई पनि प्राथमिकतामा राख्न आग्रह गरेका छन्।

काठमाडौंमा त्रिभुवन विश्वविद्यालयको स्ववियु निर्वाचनमा विजयी भएका सभापतीहरूको सम्मान कार्यक्रममा बोल्दै पूर्व विद्यार्थी नेता समेत रहेका मन्त्री पौडेलले समाज सुधार र बेथिति अन्त्यका लागि विद्यार्थीहरूले साझा एजेन्डा निर्माण गरी एकताबद्ध ढंगले अघि बढ्नुपर्ने बताएका हुन्।
साथै मन्त्री पौडेलले पछिल्ला विद्यार्थी आन्दोलनहरु विश्वासिलो र भरपर्दो नभएको पनि जिकिर गरेका छन् ।

उनले निर्वाचनमा संगठनबीच प्रतिस्पर्धा हुने भए पनि सामाजिक मुद्दाहरूमा सबै संगठनहरू मिलेर अघि बढ्नुपर्नेमा जोड दिएका छन् ।

विगतमा विद्यार्थी संगठनहरूको सहकार्यले राजनीतिक आन्दोलनमा उल्लेखनीय उपलब्धि दिलाएको उल्लेख गर्दै उनले अहिले पनि साझा मुद्दाहरूमा सहकार्य गर्न आवश्यक रहेको बताएका छन् ।

पौडेलले सिकलसेल एनिमिया जस्ता जनस्वास्थ्यका समस्या, अंग प्रत्यारोपणको महत्व, रगतको अभाव, महँगी, ढिलो न्याय प्रक्रिया, र परम्परागत गलत मान्यताहरू विरुद्ध विद्यार्थीहरूले सशक्त भूमिका खेल्नुपर्ने आवश्यकता रहेको कुरा समेत
औंल्याएका छन् ।

“रगतको अभाव मात्र होइन, कुन ब्लड ग्रुप कति उपलब्ध छ भन्ने यथार्थ बुझ्न पनि विद्यार्थीहरूले चासो दिनुपर्छ। यस्ता थुप्रै सामाजिक विषयहरू छन्, जुन विद्यार्थी आन्दोलनको प्रमुख एजेन्डा बन्न सक्ने कुरा मन्त्री पौडेलले आफ्नो सम्बोधनका क्रममा बताएका हुन् ।

 

 

 

 

 

© 2025 All right reserved Site By : Himal Creation || सूचना विभाग दर्ता नं : ४१२१–२०८०/२०८१