भारत–पाकिस्तान तनाव: सांसदहरूद्वारा नेपाललाई पर्ने प्रभावबारे सचेत रहन सरकारलाई आग्रह

काठमाडाैं । प्रतिनिधिसभाको बैठकमा सांसदहरूले भारत र पाकिस्तानबीच विकसित पछिल्लो तनाव र नेपाललाई पार्नसक्ने प्रभावबारे सचेत रहनुपर्नेमा जोड दिएका छन् ।

सांसद सञ्जयकुमार गौतमले भारत–पाकिस्तान युद्धले नेपालमा पर्ने प्रभावहरूका बारेमा समयमै छलफल अघि बढाउन सरकारसँग अनुरोध गरे । यस्तै, सांसद सर्वेन्द्रनाथ शुक्लाले नेपाल असंलग्न राष्ट्रका रूपमा रहँदै आएको तर आतङ्कवादको सम्बन्धमा नेपालले आफ्नो प्रष्टता हुन आवश्यक रहेको बताए ।

पूर्वपरराष्ट्रमन्त्रीसमेत रहेका एनपी साउदले पनि यो विषयमा सरकार गम्भीर हुन आवश्यक रहेको बताए। उनले केही दिनअघि पाकिस्तानी सैनिकले नेपाल भ्रमण गरेको विषय समेत उचित नरहेको बताए । छिमेकमा भएको घटना र विकसित परिस्थितिलाई नजरअन्दाज गर्दै पाकिस्तानको उच्चस्तरीय सैनिक प्रतिनिधिमण्डलकाे नेपाल भ्रमण भएको उनको भनाइ छ ।

सांसद अमरेशकुमार सिंहले पनि पाकिस्तानको उच्चस्तरीय सैनिकमण्डलकाे नेपाल भ्रमण अहिले उपयुक्त बेला नभएको बताए । सरकारले भने गएराति शुरू भएको भारत–पाकिस्तान युद्धबारेमा आधिकारिक धारणा सार्वजनिक गरिसकेको छैन ।

गएको अप्रिल २२ तारिखमा भारत प्रशासित जम्मु–कश्मीरको पहलगाममा भएको आतङ्कवादी आक्रमणपछि भारत र पाकिस्तानबीच तनाव बढेकोमा गएराति गोलाबारी शुरू भएको छ ।

© 2025 All right reserved Site By : Himal Creation || सूचना विभाग दर्ता नं : ४१२१–२०८०/२०८१